

काठमाडौं । समाजवादी मोर्चा नेपालले आज (मंगलबार) दिउँसो ३ बजे बैठक बोलाएको छ। बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ।बैठकमा पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाक्रम र मोर्चाको आगामी रणनीति तथा गतिविधिहरूका बारेमा छलफल हुने जनाइएको छ।
यसअघि मोर्चामा सहभागी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच दुई दिन लगातार छलफल भएको थियो। सो छलफलमा मोर्चालाई एउटै पार्टीमा रुपान्तरण गर्ने विषयमा केन्द्रित चर्चासमेत भएको स्रोतले जनाएको छ।
त्यस्तै, मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि प्रचण्ड, माधव नेपालसहित दोस्रो तहका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
मोर्चामा माओवादी केन्द्र, नेकपा एस, विप्लव नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) आवद्ध छन्। यी दलहरूलाई एउटै छातामुनि ल्याउने प्रयासस्वरूप छलफलहरू तीव्र बनाइएका छन्।





Write your Comment