

धनगढी । अछामकी पशुपति कुँवर २५ वर्षदेखि छाउपडी प्रथा विरुद्धको अभियानमा अग्रपंक्तिमा छन्। आफैँ छाउगोठमा बसेर भोगेको पीडाले उनलाई यो लडाइँमा उत्रन प्रेरित गर्यो।
२०५९ सालमा उनले अछामको भागेश्वर गाविसलाई सुदूरपश्चिममै पहिलो छाउगोठमुक्त क्षेत्र घोषणा गरिन। उनले आफ्नै परिवार र समुदायबाट परिवर्तनको सुरुवात गरिन्। सुरुवाती दिनमा धेरै विरोध खेपिन्, तर उनले हार मानिनन्।पशुपतिले छाउपडी हटाउन कानूनदेखि चेतनामूलक कार्यक्रम, विद्यालयमा विषय समावेश, निःशुल्क प्याड वितरण, र पुनःप्रयोग हुने प्याड उद्योग सञ्चालन जस्ता कदम चालेकी छन्।
२०७५ मा छाउगोठमा किशोरीको मृत्यु भएपछि कानुनी कारबाहीमा समेत उनले भूमिका खेलिन्। अहिले पनि बाँकी छाउगोठ हटाउन ‘छाउगोठमुक्त अभियान २०८१’ चलाइरहेकी छन्।उनको भनाइमा, “परिवर्तनको सुरुवात आफैँबाट हुनुपर्छ। सामाजिक सेवा र निर्णय तहमा महिला सहभागिता अत्यावश्यक छ।”
‘समविकास नेपाल’ नामक संस्थामार्फत सामाजिक काम गर्दै आएकी पशुपति कुँवर महिलाका लागि प्रेरणादायी नाम बनेकी छन्।





Write your Comment