

चितवन — नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि वर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा र पूर्वमन्त्री इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुने भएको छ। लामामाथि अविश्वासको प्रस्ताव दर्ता गरेका सांसदहरूले बानियाँलाई पहिले नै दलको नेता तथा भावी मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिसकेका थिए।
यद्यपि, संसदीय दलको नेताबाट हटाइएपछि पनि लामा स्वयं प्रतिस्पर्धामा आउने कि नआउने भन्ने स्पष्ट नभइसकेको अवस्थामा अन्ततः उनले पुनः प्रतिस्पर्धामा उत्रने निर्णय गरेका हुन्।मुख्यमन्त्री लामाले प्रारम्भमा आफ्नो तर्फबाट ललितपुरका सांसद रामकृष्ण चित्रकारलाई उम्मेदवार बनाउने संकेत दिएका थिए। तर, चित्रकारकै भनाइअनुसार, “जित सुनिश्चित देखिएपछि पुनः मुख्यमन्त्री ज्यूले नै उम्मेदवारी दिने निर्णय गर्नुभएको छ।”
संसदीय दलका सचिव कृष्ण तामाङका अनुसार, आज बिहान १० बजेबाट नामावली प्रकाशन कार्य सुरु भइसकेको छ। ११:३० देखि १२:०० बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। नेपाली कांग्रेस बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको नेतृत्वमा गठित निर्वाचन समितिले आजै मतदान र परिणाम घोषणा गर्ने तयारी गरेको छ।
मुख्यमन्त्री लामाले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गर्दै पाँचै जना मन्त्रीको टुङ्गो लगाउने प्रयास गरिरहेको पनि चित्रकारले जानकारी दिए। उनले भने, “पाँच जनाको टुङ्गो नलागे पनि निश्चित भएका तीन जनाले आजै शपथ लिने तयारी छ।”यस प्रतिस्पर्धाले बागमती प्रदेशको सत्ता समीकरणमा महत्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको छ।





Write your Comment