

काठमाडौं । भारतको समाजवादी पार्टीकी सांसद तथा वरिष्ठ अभिनेत्री जया बच्चनले ‘अप्रेसन सिन्दूर’ नामप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि आक्रोश व्यक्त गरेकी छन्।
जम्मु–कश्मीरको पहलगाममा हालै भएको आतंकी हमलापछि भारतले पाकिस्तानमाथि जवाफी कारबाही थालेको थियो, जसलाई ‘अप्रेसन सिन्दूर’ नाम दिइएको छ। सोही नामको आलोचना गर्दै सांसद बच्चनले बुधबार राज्यसभामा भनिन्, “सिन्दूर उजाडियो, कसैको श्रीमान् मरे, कसैको परिवार बिनाश भयो — यस्तो कारबाहीको नाम सिन्दूर किन राखियो ?”
उनले घटनालाई फिक्सन (कल्पना) जस्तै भएको भन्दै सरकारमाथि व्यंग्य गरेकी हुन्। “केही मान्छे आए, यति ठुलो हत्याकाण्ड मच्चाए, अनि तपाईंहरूले यस्तो नाम राख्नुभयो, जसले पीडितलाई झन् दुख दिन्छ,” उनले भनिन्।बच्चनले संविधानको धारा ३७० खारेज भएपछि सरकारले कश्मीरमा आतंकवाद अन्त्य भएको दाबी गरेको स्मरण गराउँदै त्यो दाबी झुटो सावित भएको टिप्पणी गरिन्। “सरकारको भरोसामा श्रद्धालुहरू कश्मीर गएका थिए, अब उनीहरूले कहिल्यै माफ गर्ने छैनन्,” उनले भनिन्।
उनको अभिव्यक्तिपछि राज्यसभामा केहीबेर विवादित माहोल पनि देखिएको थियो।





Write your Comment