

कैलाली । नवौं शक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेलाबाट अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाइएको निर्णयप्रति उनको पक्षमा रहेका नेताहरूले असहमति जनाएका छन्।
रेशम चौधरी पक्षले राष्ट्रिय भेला आह्वान गरी लालवीर चौधरीलाई अध्यक्ष चयन गरेपछि श्रेष्ठ निकटका नेताहरूले उक्त निर्णयलाई अवैधानिक भनेका हुन्।श्रेष्ठले आफ्ना समर्थक नेताहरूसँग बिहीबार छलफल गर्दै विधानविपरीत आफूलाई हटाइएको बताइन्।छलफलमा सहभागी प्रदेश सांसद, पालिका प्रमुख र वडाध्यक्षहरूले राष्ट्रिय भेला वैधानिक नहुने भन्दै रञ्जिताको नेतृत्वमा नै पार्टी अघि बढ्ने बताएका थिए।उनीहरूले बैठकमा आफूहरूलाई पत्रमार्फत बोलाइए पनि निर्णयप्रति सहमति नभएको स्पष्ट पारेका थिए।
“भेला अध्यक्षकै पहलमा हुनुपर्ने हाम्रो विधानले भन्छ,” एक नेताले भने, “त्यसैले त्यो भेला वैधानिक होइन।”श्रेष्ठले अध्यक्षको अधिकार नहुँदै कार्यवाहक तोकेको भन्दै कारबाही गरिएकोमा त्यो प्रक्रिया नै त्रुटिपूर्ण रहेको बताइन्।उनले आफू विधिसम्मत अध्यक्ष रहेको दाबी गर्दै राष्ट्रिय भेलाको निर्णय निर्वाचन आयोगले मान्यता नदिने विश्वास व्यक्त गरिन्।
श्रेष्ठ निकट नेताहरूले कानूनी उपचारको सल्लाहसमेत दिएका छन् र पार्टी विधानविपरीत भएका निर्णयविरुद्ध उभिने बताएका छन्।श्रेष्ठले संसदीय दलका नेता गङ्गा चौधरीलाई स्पष्टीकरण सोधिसकेको जानकारी दिँदै विधिविपरीत कामको जिम्मेवारी कोले लिने भन्ने प्रश्न उठाएकी छन्।





Write your Comment