

काठमाडौँ । सांसद मदनकुमारी शाह ‘गरिमा’ले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन तोकिएको समयमा सम्पन्न हुन नसक्नु समग्र विकास योजनाको दुर्दशाको प्रतिबिम्ब भएको टिप्पणी गरेकी छन्।
आइतबार संघीय संसदको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसद गरिमाले निर्माणको म्यादसम्बन्धी जानकारी गलत रूपमा समितिमा प्रस्तुत गरिएको भन्दै तीव्र आपत्ति जनाइन्।
‘विभागले समितिको निर्णयअनुसार २०८२ सालको माघ १६ गतेसम्म म्याद थप गरिएको भनिएको छ, जुन सरासर गलत हो,’ उनले भनिन्, ‘म स्वयं त्यस समितिकी सदस्य हुँ। हामीले एक अधिवेशनभित्रै सम्पन्न हुने गरी छोटो अवधि मात्र थप्ने निर्णय गरेका थियौं। तर एक वर्षको म्याद अध्यादेशमार्फत स्वतः थपिएको हो।’
उनले समितिमा गलत तथ्याङ्क पेश गर्नु अमान्य रहेको स्पष्ट पार्दै भनिन्, ‘समितिमा आएर गलत रिपोर्टिङ नगर्नुहोस्।’
सांसद गरिमाले संसद भवनजस्तो राष्ट्रिय महत्वको आयोजनाले समेत गति नलिनु दुःखद भएको भन्दै आक्रोश व्यक्त गरिन्। ‘यो त देशको अनुहार हो। सिंहदरबारभित्रको आयोजनाको हालत यस्तो छ भने, बाहिरका गौरवका आयोजनाको अवस्था कस्तो होला भन्ने सजिलै अनुमान गर्न सकिन्छ,’ उनले भनिन्, ‘सबैको चासो हुँदाहुँदै पनि काम नहुनु हाम्रो कार्यशैली र प्रतिबद्धतामाथि गम्भीर प्रश्न हो।’





Write your Comment