

बाराको जीतपुर, सिमरा । बाराको जीतपुरमा फेरि एकपटक बाख्रीको मासु खसीको नाममा बेचिएको घटनाको खुलासा भएको छ। उपभोक्ताको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिमराले जीतपुरस्थित समीर फ्रेस हाउसमा छापा मारी उक्त मासु नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, समीर फ्रेस हाउसले खसीको मासुको नाममा उपभोक्तालाई बाख्रीको मासु विक्री गर्दै आएको पुष्टि भएको छ। उपभोक्ताको उजुरीपछि गरिएको अनुसन्धानमा अनियमितता प्रमाणित भएपछि प्रहरीले तत्काल मासु नियन्त्रणमा लिएको जानकारी दिएको छ।
फ्रेस हाउसका सञ्चालक भने घटनापछि फरार रहेका छन्। प्रहरीले उनीहरूको खोजी कार्य सुरु गरेको जनाएको छ। यसअघि पनि जीतपुरमै रहेको मुस्कान फ्रेस हाउसमा यस्तै खालको अनियमितता फेला परेपछि सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
यसरी पटक–पटक यस्ता घटना दोहोरिइरहेका घटनाले उपभोक्ताहरू चिन्तित बनेका छन्। उनीहरूले मासु व्यवसायमा भइरहेका ठगी र स्वास्थ्यसँग सम्बन्धित जोखिमप्रति कडा आपत्ति जनाउँदै प्रशासनसँग कडा निगरानी र कारबाहीको माग गरेका छन्।
यसै सन्दर्भमा जीतपुरसिमरा उपमहानगरपालिका–१४, रजघट्टाका स्थानीय शिव अधिकारीले मासु व्यवसायमा निगरानी कडाई गर्न स्थानीय प्रशासनलाई आग्रह गरेका छन्।





Write your Comment