

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले देश र जनताको हितलाई केन्द्रमा राखेर सरकारले कानून निर्माण गर्ने बताएका छन्। बहुविवाहसम्बन्धी संशोधन प्रस्तावको सन्दर्भमा बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
गृहमन्त्री लेखकले कानूनमा खराब व्यवस्था आउने भन्ने आशङ्का नगर्न आग्रह गर्दै भने, “आजको बैठकमा पाँच वटा विधेयकमा संशोधन प्रस्ताव भएको छ — मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारणसम्बन्धी कानून।”
उनका अनुसार बहुविवाह सम्बन्धी संशोधन, विवाहको न्यूनतम उमेर, अग्रिम जमानत, र राष्ट्रपतिको सिफारिसमा सजाय कटौती वा सफाइसम्बन्धी प्रावधानहरूमा थप छलफल र परिमार्जन आवश्यक देखिएको छ।
“हामीले विधेयक समितिभित्र उपसमिति बनाएका छौं,” उनले भने, “सम्बन्धित मन्त्रालयहरूसँग राय–सल्लाह लिएर आवश्यक संशोधन अघि बढाइनेछ। नागरिक समाजमा उठेका प्रश्न र चासोलाई सम्बोधन गर्दै समिति अघि बढ्नेछ।”





Write your Comment