

विराटनगर — सिटी सफारी (ई-रिक्सा) को कर छुट माग गर्दै धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा पुगेकी चालक रिना लामालाई सामाजिक सञ्जालमा गाली बेइज्जती र धम्की दिइएपछि उनले प्रहरीमा उजुरी दिएकी छन्।
रिनाले इलाका प्रहरी कार्यालय धरानमा साइबर अपराधमा कारबाहीको माग गर्दै ११ जनाविरुद्ध उजुरी दर्ता गराएकी हुन्। उजुरीमा कुमारी राई, सविन राई, सोम थापा, केबी गुरुङ, जीवन लामा लगायतको नाम उल्लेख छ।
केही दिनअघि कर छुटका विषयमा मेयर साम्पाङसँग भेट गर्न गएकी लामा र मेयरबीच भनाभन भएको थियो। सो भिडन्तको भिडिओ युट्युबर इन्द्र लिम्बूले सम्पादनसहित सार्वजनिक गरेका थिए। लामाले उक्त भिडिओमा आफूले मात्र बोलेको भाग देखाएर भ्रम फैलाइएको आरोप लगाएकी छन्।
भिडिओ सार्वजनिक भएपछि मेयरका समर्थकहरू लामाविरुद्ध सामाजिक सञ्जालमा खनिएका थिए। उनले माफी माग्दै भिडिओ पनि सार्वजनिक गरेकी थिइन्। तर, गाली गलौज नरोकिएपछि उनले दृढ हुँदै भनिन्, “१० वर्ष लागे पनि म मुद्दा लड्छु।”
धरानका डीएसपी प्रकाश जवेगुले उजुरी दर्ता भइसकेको र आरोपितहरूमाथि साइबर अपराध अन्तर्गत अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।





Write your Comment