

विराटनगर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सुनसरीको वराहक्षेत्र नगरपालिका–७ निवासी ५९ वर्षीय अर्थराज कोइराला हुन्।
कोइरालालाई मंगलबार विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाले जानकारी दिए।कोइरालामाथि बाल यौन दुरुपयोगको आरोपमा सुनसरी जिल्ला अदालतले दोषी ठहर गर्दै २ वर्ष कैद, रु २५,००० जरिवाना तथा रु २ लाख क्षतिपूर्ति भराउने फैसला गरिसकेको छ। अदालतले उनलाई दोषी ठहर गरे पनि उनी लामो समयसम्म फरार थिए।
प्रहरीका अनुसार कोइराला आफ्नै घरमा काम गर्ने नाबालिगमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहर भएका हुन्। उनी अमेरिकाको टेक्ससमा बस्दै आएका थिए। गत वैशाखमा नेपाल आएका बेला घटना सार्वजनिक भएपछि उनलाई एकपटक पक्राउ गरी धरौटीमा छाडिएको थियो।
तर, अदालतले २०७८ साल असार ३२ गते उनलाई औपचारिक रूपमा दोषी ठहर गरेपछि उनी पुनः फरार रहँदै आएका थिए। मंगलबार विराटनगर महानगरपालिका–३ स्थित रास्वपाको पार्टी कार्यालयमा सभापति लामिछानेको समर्थनमा हस्ताक्षर अभियान चलिरहेका बेला कोइरालालाई पक्राउ गरिएको हो।





Write your Comment