

काठमाडौं — निजामती सेवा विधेयकमा गरिएको विवादास्पद संशोधन (कुलिङ अफ पिरियड प्रावधान हटाउने प्रयास) प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ।
सोमबार बसेको रास्वपाको सचिवालय बैठकले उक्त निष्कर्ष निकालेको हो। प्रवक्ता डा. मनिष झाले सभापति खतिवडाले समितिको सभापति पदमा बसिरहँदा आवश्यक समन्वय गर्न नसकेको भन्दै नैतिक जिम्मेवारी लिनु पर्ने धारणा पार्टीले बनाएको जानकारी दिए।संसदीय समितिबाट हिजो सार्वजनिक भएको छानबिन प्रतिवेदनमा पनि खतिवडालाई नैतिक जिम्मेवार ठहर गरिएको छ। सो प्रतिवेदनलाई आधार मानेर रास्वपाले उनको राजीनामा माग गरेको हो।
यससँगै रास्वपाले कुलिङ अफ पिरियड नीति पार्टी भित्र पनि कडाइका साथ लागू गर्ने तयारी थालेको छ। सरकारी सेवाबाट निवृत्त भएका कर्मचारीलाई कम्तीमा २ वर्षसम्म पार्टी सदस्य नबनाउने प्रस्ताव सचिवालय बैठकमा आएको जनाइएको छ। प्रवक्ता झाले भने, “हिजो समयाभावका कारण यो विषयमा विस्तृत छलफल हुन सकेन, तर अर्को बैठकमा यसबारे छलफल गरी विधान संशोधन गर्ने तयारी छ।”
त्यस्तै, पार्टीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीशलगायत उच्च संवैधानिक पदमा रहेका व्यक्तिहरूलाई पार्टीमा नलिने प्रस्ताव पनि अघि सारेको छ।
बैठकले रुपन्देही क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि तयारी थाल्ने निर्णय पनि गरेको छ। यसै सन्दर्भमा उपनिर्वाचन लड्न चाहने रास्वपाकी समानुपातिक सांसद कुसुम महर्जनले दिएको राजीनामा स्वीकृत गरिएको प्रवक्ता झाले बताए।





Write your Comment