

सिन्धुपाल्चोक — जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवराज खरेल र प्रहरी निरीक्षक रुपेश शाहमाथि कार्यालय सहयोगी (भान्से) शंकर कार्कीलाई निर्घात कुटपिट गरेको आरोप लागेको छ। कार्कीका अनुसार साउन २२ गते डिएसपीको मेसमा खाना पकाउने क्रममा बासी भात खुवाएको भन्दै कुटपिट गरी तीन दिन हिरासतमा राखेर सेवाबाट बर्खास्त गरिएको हो।
कार्कीले डिएसपीले सात्त्विक भोजनका लागि छुट्टै भाँडामा खाना पकाएको भए पनि एक्कासि गाली गर्दै कुटपिट सुरु गरेको दाबी गरेका छन्। हिरासतमा रहँदा इन्स्पेक्टर शाहले पनि बाहिरी चोट नदेखिने गरी कुटपिट गरेको आरोप उनले लगाएका छन्।
तर, जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर कार्की भने भान्से कार्कीले नै ट्रे र लात्तीले डिएसपी र इन्स्पेक्टरलाई हानेपछि विभागीय कारबाही स्वरूप बर्खास्त गरिएको दाबी गर्छन्।





Write your Comment