भ्रष्टाचार र बिचौलियाको संरक्षणले मुलुकलाई दुर्घटनातर्फ धकेल्दैछ : शिशिर खनाल

रातोघर

 २०८२ श्रावण २७, मंगलबार  मा प्रकाशित
२७४ पाठक संख्या


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकारले मुलुक र लोकतन्त्रलाई दुर्घटनातर्फ लैजाने चेतावनी दिएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै खनालले भिजिट भिसा प्रकरणबारे निरन्तर आवाज उठाए पनि सरकार र सत्तापक्षले त्यसलाई दबाउने प्रयास गरिरहेको आरोप लगाए।

उनले गृह मन्त्रालयका कर्मचारी घुस लिइरहेको सूचना प्रहरीसम्म पुग्दा पनि गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भन्दै छानबिन अघि नबढेको उदाहरण दिँदै सरकार लोकतन्त्रको मर्म विपरीत चलिरहेको दाबी गरे।

खनालले अमेरिकी पुस्तक “How Democracies Die” मा उल्लिखित लोकतन्त्र खतरामा पर्ने चार संकेतहरू उद्धृत गर्दै हालको सत्ता त्यसतर्फ उन्मुख रहेको टिप्पणी गरे। ती संकेतमा संविधानको मर्यादा घटाउने, विपक्षीलाई अवैध ठहर गर्ने, हिंसालाई मौन समर्थन वा उक्साउने, र नागरिक स्वतन्त्रतामाथि प्रहार गर्ने प्रवृत्ति रहेको उनले स्मरण गराए।

उनले भिजिट भिसा प्रकरण, लिचीबारी बिक्रीको अडियो, पासपोर्ट छपाइमा भागबन्डा, कुलिङ पिरियडसम्बन्धी अनियमितता जस्ता घटनामा पनि संसद मौन बसेको र उल्टै विपक्षीको आवाज दवाउने काम भएको आरोप लगाए।

खनालले प्रधानमन्त्रीलाई उक्त पुस्तक एकपटक पढ्न आग्रह गर्दै, “हामी सुशासन र छानबिन चाहन्छौं, भ्रष्टाचारी मन्त्री पदमै नरहून् भन्ने चाहन्छौं, तपाईँ के चाहनुहुन्छ?” भनी प्रश्न गरे। उनले आन्दोलन जारी रहने स्पष्ट संकेत पनि दिए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban