

काठमाडौं – प्रहरीको सरुवा र बढुवा व्यवस्थित गर्न बनाइएका मापदण्ड तोड्दै मंगलबार ९ एसपी र ४१ डीएसपीको हेरफेर भएको छ। ‘क’ श्रेणीको कार्यालय प्रमुखलाई सोही श्रेणीमा पुनः सरुवा नगर्ने र एक प्रमुख पदबाट अर्को प्रमुख पदमा सिधै नपठाउने नियम विपरीत सुदूरपश्चिम प्रदेश प्रहरी गणका प्रमुख एसपी सरोज पौडेललाई बर्दियाको प्रमुखमा पठाइएको छ।
यस्तै, वैशाखमा मात्र डोल्पाको जिल्ला प्रहरी प्रमुख बनेका डीएसपी डा. हेमबहादुर केसीलाई ४ महिनामै सल्यानको प्रमुखमा सरुवा गरिएको छ। यसरी एक वर्षअघि मात्रै सरुवा भएकालाई फेरि अर्को जिल्लामा पठाउनु मापदण्ड विपरीत हो।
यसपटकको हेरफेरपछि तनहुँ, धादिङ, उदयपुर र बर्दियासहित ४ जिल्लामा प्रहरी नेतृत्व फेरिएको छ भने ५ जिल्लामा डीएसपी स्तरका कार्यालय प्रमुख परिवर्तन भएका छन्। आकर्षक मानिने पोखराको बैदाम, रौतहटको चन्द्रनिगाहपुर र काठमाडौंको सिंहदरबार प्रहरी बृत्तमा पनि नयाँ प्रमुख खटाइएका छन्।





Write your Comment