

अखिलेश कुमार यादव ।
२८ साउन।कलैया : कलैया उपमहानगरपालिका–१६ श्रीपुरस्थित विद्यानगर बजारको नवनिर्मित तरकारी बजार भवनको उद्घाटन गरिएको छ । बुधबार पूर्वमन्त्री एवं बारा क्षेत्र नं. ३ की सांसद ज्वाला कुमारी साहले सो नवनिर्मित बजार भवनको गरे। नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ९२ लाख ९३ हजार ६ सय रुपैयाँ लागतमा ११ कोठे भवन निर्माण गरिएको हो।
यो बजार भवन श्री विद्या देवी मन्दिर जोगिन्द्र साह आधारभूत विद्यालयको जग्गामा निर्माण गरिएको हो। विद्यालयका प्रधानाध्यापक अशोक पाण्डेलाई पूर्वमन्त्री साहले ११ वटै कोठाको साँचो हस्तान्तरण गरे। भवनबाट प्राप्त आम्दानी विद्यालयका शिक्षक पदपूर्ति लगायतका कार्यमा खर्च हुने अपेक्षा गरिएको छ।
कार्यक्रमको अध्यक्षता बजार निर्माण उपभोक्ता समितिका अध्यक्ष गोरख यादवले गरेको थियो। अध्यक्ष यादवले सरकारले उखु किसानका लागि तोकेको ७० रुपैयाँ समर्थन मूल्य समयमै उपलब्ध गराउन आग्रह गर्दै बजार सञ्चालनमा आएपछि तरकारी किनबेचमा बर्षौँको समस्या समाधान हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा कलैया–१६ का कार्यवाहक वडाध्यक्ष ओमप्रकाश यादवले पूर्वमन्त्री साहको पहलमा निर्माण भएको बजारप्रति वडावासी खुशी भएको बताए। उनले बाँकी रहेका काम सम्पन्न गर्न र भोल्टेज समस्या समाधानका लागि ट्रान्सफर्मर उपलब्ध गराउन आग्रह गरे।
जनमत पार्टीका बारा जिल्ला इन्चार्ज शिवनाथ पटेलले बजार निर्माण भएको जग्गा स्थानीयले अतिक्रमण गरेको अवस्थाबाट सार्वजनिकरणमा ल्याउन विभिन्न दलका प्रतिनिधिहरूले मुद्दासम्म खेपेको जानकारी दिए। उनले वडा–१६ लाई औद्योगिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए।
प्रमुख अतिथि पूर्वमन्त्री साहले ११७ दिनको छोटो कार्यकालमै कृषि क्षेत्रमा उल्लेखनीय काम गरेको बताउँदै मल, खाद्य तथा सिँचाइको अभाव नहोस् भन्ने उद्देश्यका साथ मन्त्रालयमा कार्य गरेको स्मरण गरिन्। उनले बारा जिल्लामा करोडौँको बजेट विनियोजन गरी विभिन्न स्थानमा बजार निर्माण कार्य अघि बढाएको र विद्यानगर बजारको बाँकी काम पूरा गर्न तथा भोल्टेज समस्या समाधानका लागि उर्जा मन्त्रालयमार्फत ट्रान्सफर्मर जडान गराउने प्रतिबद्धता व्यक्त गरिन्।
यसै अवसरमा स्थानीय बासिन्दा इन्द्रदेव कुशवाहाले विगतमा बजार ब्यवस्थित नहुदा हिलो, पानी र घामको सास्ती खेपेर तरकारी किन्नुपरेको अनुभव सुनाए। “पहिले त पानी परे बुटमा हिलो, घाम लागे पसिना, तरकारी पनि राम्ररी राख्ने ठाउँ थिएन। अब चाहिँ सफा कोठा र छायाँमा सहजै किनबेच गर्न पाउने भयौं,” उनले भने।
अर्का स्थानीय नसरुदिन अन्सारीले बजार निर्माण भएपछि विक्रेतालाई मात्रै होइन, किन्ने ग्राहकलाई पनि सहजता हुने बताए। “पहिले सडक छेउमै भीडमा किनबेच गर्दा दुर्घटनाको जोखिम थियो, अब यो भवनले सबैलाई सुरक्षित र आरामदायी वातावरण दिनेछ,” उनले खुशी व्यक्त गरे।







Write your Comment