काठमाडौं ३१ नं वडाको शंखमुल गणेशमार्ग सडक महिनौँदेखि हिलाम्मे, स्थानीय आक्रोशित

रातोघर

 २०८२ श्रावण २९, बिहिबार  मा प्रकाशित
२६५ पाठक संख्या


काठमाडौं । युवा मेयर र उपमेयरका कारण सधैं चर्चामा रहने काठमाडौं महानगरपालिका ३१ नं वडाको शंखमुल गणेशमार्ग सडक महिनौँदेखि हिलाम्मे अवस्थामा रहँदा स्थानीयहरू दैनिक सास्ती खेपिरहेका छन् ।

वडा र निर्माण व्यवसायीले प्रभावकारी रूपमा काम नगर्दा सो क्षेत्रमा यात्रा गर्न मुस्किल भएको स्थानीयको गुनासो छ । वडा अध्यक्ष सरोज ढकालका अनुसार, स्थानीय मागअनुसार ८२ इन्चको ३८३ मिटर ढल र मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम गरिएको हो । ढल व्यवस्थापनको काम सकिए पनि निर्माण कम्पनीले बाँकी काम अघि नबढाउँदा सडक पुनः मर्मत हुन सकेको छैन ।

श्री टुँडाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले रु. १ करोड ७ लाख १९ हजार ३२३.६८ (भ्याट र पीएस बाहेक) लागतमा २०८२ असोज मसान्तसम्म काम सक्ने सम्झौता गरे पनि प्रगति सुस्त छ ।

स्थानीय व्यापारी सरोज तिमल्सिनाले ढल व्यवस्थापनको क्रममा खनिएको माटो सडकमै फालिएको र त्यसकै कारण सडक हिलाम्मे भएको बताए । वैशाख २८ गतेबाट खनिएको सडक अहिले पनि जस्ताको त्यस्तै छ, जसको कारण वडा र ठेकेदारको लापरबाही भएको स्थानीयको आरोप छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban