

हेटौँडा — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसको भागमा परेको ५ मन्त्रालयका लागि मन्त्री सिफारिस गरेका छन्। सिफारिसमा कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङ छन्। उनीहरूले आज साँझ ४ बजे शपथ लिनेछन्।
स्रोतका अनुसार वादेलाई आन्तरिक मामिला तथा कानून, श्रेष्ठलाई युवा तथा खेलकुद, नेपाललाई सामाजिक विकास, तामाङलाई आर्थिक मामिला तथा रायमाझीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय दिने तयारी छ। शिवराज अधिकारीलाई पर्यटन मन्त्रालय दिने चर्चा छ, तर मन्त्रालयमा हेरफेर हुनसक्ने बताइएको छ।
कांग्रेसबाट कृष्णकुमार तामाङ पहिले नै खानेपानी मन्त्री भइसकेका छन्। एमालेबाट ६ मन्त्री नियुक्त भइसकेका छन्। मुख्यमन्त्री बानियाँले साउन २० गते पदभार समाली साउन २७ गते विश्वासको मत लिएका थिए।





Write your Comment