प्रधानमन्त्री ओलीको निर्देशन – ‘प्रहरी शासक नभई जनताको सेवक बन्छ’

रातोघर

 २०८२ भाद्र १, आईतबार  मा प्रकाशित
२४९ पाठक संख्या


जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई शासक नभई जनताको सेवकको भूमिकामा रहँदै काम गर्न निर्देशन दिएका छन् ।

जनकपुरधाममा मधेश प्रदेश प्रहरी कार्यालयको नवर्निमित भवन उद्घाटनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सुशासन र शान्ति–सुरक्षा कायम गर्न प्रहरी हाकिमको हैसियतले होइन, सेवकको भावनाले काम गर्नुपर्ने बताए ।

प्रहरीबाट कसैलाई जबर्जस्ती फसाउने काम नहोस् भन्दै उनले न्यायोचित ढंगले काम गर्नुपर्नेमा जोड दिए । उनले भने, “राणा शासन वा पञ्चायत कालमा जस्तो झूटो आरोप लगाएर कसैलाई फसाउने र यातना दिने काम अहिले नहोस् । मुलुकमा केही तत्वहरूले अराजक फैलाउने र नयाँ शक्तिको भ्रम सिर्जना गर्ने काम गरिरहेका छन्, त्यसप्रति सतर्क रहनुपर्छ ।”

समाजमा अराजकता फैलाउने तत्वहरूको लोकतन्त्र ल्याउन कुनै योगदान नरहेको उल्लेख गर्दै ओलीले झूटो बोल्नेलाई समाज र राष्ट्रले सजाय दिनुपर्ने बताए ।उनले थपे, “नेपाली सेनाले राष्ट्रको सुरक्षा गरिरहेको छ भने नेपाल प्रहरीले इमानदारी र दक्षताका साथ जनताको सुरक्षा र सेवा गर्नुपर्छ ।”

बढ्दो आपराधिक गतिविधि, चोरी–डकैती, लागुऔषधको दुरुपयोग, सीमा क्षेत्रमा हुने चोरी–तस्करी, मानव ओसारपसार र राजस्व चुहावट नियन्त्रण गर्न प्रहरी संगठन इमानदारीपूर्वक र गम्भीरतापूर्वक लाग्नुपर्ने आवश्यकता प्रधानमन्त्रीले औंल्याए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban