अस्थिरताका रोगीहरूले सरकार ढल्ने हल्ला चलाउँछन् : शंकर पोखरेल

रातोघर

 २०८२ भाद्र २, सोमबार  मा प्रकाशित
१७९ पाठक संख्या


महेन्द्रनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताका पक्षधरहरूले सरकार ढल्ने हल्ला मच्चाइरहेको आरोप लगाएका छन् । एमाले–कांग्रेसबीच उच्चस्तरीय सहमति सहित गठबन्धन बनेकोले उनीहरू असहज बनेको उनको भनाइ छ ।

प्रेस चौतारी नेपाल कञ्चनपुरले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले २०८४ को चुनावसम्म गठबन्धन निरन्तर रहने दाबी गरे । उनले भने, ‘दुई ठूला दल मिलेर सरकार बनेको छ, स्थिरता देखिएको छ । तर, अस्थिरताको रोग लागेकाहरू आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला फैलाइरहेका छन् ।’

कांग्रेस नेता शेखर कोइरालालाई लक्षित गर्दै पोखरेलले एकातिर सत्ता साझेदारी खोज्ने तर अर्कोतर्फ सरकारको विरोध गर्ने व्यवहार अनैतिक भएको टिप्पणी गरे ।सूचनाको हक कुण्ठित हुने कुनै पनि कानून सरकारले नल्याउने प्रष्ट पार्दै उनले भने, ‘संसद्ले संविधानसँग बाझिने कुनै कानून बनाउँदैन । अहिले स्वतन्त्रताका नाममा अराजकता बढेको छ, त्यसलाई नियन्त्रण गर्न खोजिएको हो ।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रसङ्गमा उनले लोकतान्त्रिक मूल्य मान्यताका दृष्टिले राष्ट्राध्यक्ष भइसकेका व्यक्तिले फेरि राजनीतिमा फर्किनु उचित नहुने दोहोर्‍याए । ‘पूर्वराष्ट्रपति सम्मानित भूमिकामै रहनुपर्छ, यो लोकतन्त्रको मूल्यसँग जोडिन्छ, व्यक्तिसँग होइन,’ उनले स्पष्ट पारे ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban