

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पद आवधिक हुने भएकाले पदावधि सकिएपछि राजनीतिमा फर्कन सकिने बताएकी छन् ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले राजा व्यक्ति भए पनि राष्ट्रपति पद मात्र भएकोले राजनीतिमा फर्कन कुनै संवैधानिक बाधा नरहेको तर्क गरिन् ।
एमालेसँगको ४५ वर्ष लामो राजनीतिक यात्रा स्मरण गर्दै भण्डारीले आफू अझै पनि एमालेकै नीति–कार्यक्रमअनुसार अघि बढिरहेको स्पष्ट पारिन् । ‘मैले पदावधि सकिएपछि पार्टी सदस्यता नवीकरण गरेको हुँ,’ उनले भनिन् ।
संविधानसँग औचित्य जोडिएको प्रश्नमा उनले जवाफ संविधानविद्हरूले दिनुपर्ने बताइन् । साथै उनले मुलुकमा रहेका धेरै वाम दलबीच वाम एकता हुने सम्भावना देख्न नसकेको उल्लेख गरिन् ।
एमालेले आफ्नो सदस्यता नवीकरण खारेज गरेको भन्नेबारेमा भने उनलाई औपचारिक जानकारी नभएको उनले प्रष्ट पारिन् ।





Write your Comment