रामेछाप–ओखलढुङ्गा जोड्ने सडकमा समस्या समाधान गर्ने निर्माण कम्पनीको प्रतिबद्धता

रातोघर

 २०८२ भाद्र ५, बिहिबार  मा प्रकाशित
२३८ पाठक संख्या


रामेछाप । रामेछाप–ओखलढुङ्गा जोड्ने रणनीतिक महत्वको सेलेघाट–रामेछाप–साँघुटार सडक निर्माण अलपत्र पारेर यातायात अवरुद्ध भएको समस्याबारे निर्माण कम्पनीले समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।

स्थलगत अनुगमनपछि जिल्ला प्रशासन कार्यालय रामेछापको अगुवाइमा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, सडक आयोजना कार्यालय र निर्माण कम्पनीका प्रतिनिधिबीच भएको छलफलमा कम्पनीले समस्या समाधान गर्ने आश्वासन दिएको हो ।

पुरानो संरचना भत्काएर लथालिङ्ग पार्दा रामेछाप र ओखलढुङ्गाबाट काठमाडौं आउजाउ गर्ने सवारी साधनलाई ठूलो कठिनाइ खेप्नु परेको थियो । वर्षायाममा सडक हिलो हुँदा यात्रुवाहकसहितका सवारी साधन घण्टौँसम्म बाटोमै अलपत्र पर्ने र बस्तीहरू जोखिममा पर्ने अवस्था देखिएपछि सरोकारवालाले गम्भीर ध्यानाकर्षण गराएका थिए ।

बैठकले तत्काल जोखिमपूर्ण स्थानमा मर्मत गर्ने, नियमित यातायात सञ्चालन हुने व्यवस्था मिलाउने, शान्ति सुरक्षामा सहकार्य गर्ने र स्तरोन्नति कार्यलाई गुणस्तरीय रूपमा अघि बढाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

निर्माण कम्पनी टेलिकम्युनिकेसन इण्डिया लिमिटेड (टीसीआईएल) ले तोकिएको मापदण्डअनुसार २०७९/८० मा संशोधित स्वीकृत समय सीमा अनुसार २०८३ असार ९ भित्र सडक स्तरोन्नति कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीका प्रतिनिधि डी.सी. शर्माले तत्काल यातायात सञ्चालन सहज बनाउन र तोकिएको समयमै काम सकाउने गरी कार्य अघि बढाउने बताए ।उक्त सडक भारतीय एक्जिम बैंकको सहयोगमा निर्माण भइरहेको हो । टीसीआईएलसँग २०२० नोभेम्बर ११ मा सम्झौता भई २०२३ मे १० भित्र सम्पन्न गर्ने सहमति भए पनि काम नसकिएपछि १७ महिनाको म्याद थपिएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban