

काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमि सम्बन्धी विधेयक बहुमतले पारित भएको छ । बिहीबार बसेको बैठकले छलफलपछि विधेयक पारित गरेको हो ।
तर प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधेयकमाथि असन्तुष्टि जनाएका छन् । समितिमा समय नपाएपछि माओवादी केन्द्रका सांसदहरू छलफलबाट बाहिरिएका थिए ।
समितिका सचिव शिवदत्त बरालका अनुसार, माओवादी केन्द्र र रास्वपाका सांसदहरूले विधेयकमाथि फरक मत लेखेर शुक्रबार पेश गर्न सक्नेछन् । फरक मत राखे पनि समितिको निर्णयमा हस्ताक्षर गर्न सकिने व्यवस्था रहेको उनले जानकारी दिए ।
समितिको बैठकमा माओवादी केन्द्रकी सांसद रुपा चौधरी र रास्वपाका सांसद अशोककुमार चौधरीले विधेयकमा धारणा बनाउन थप समय मागेका थिए । तर समितिले विधेयक पारित गर्ने निर्णय गरेपछि माओवादी सांसदहरू बैठकबाट बाहिरिएका हुन् ।





Write your Comment