

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरूले संसद्मा गरिरहेको आन्दोलन र बहिष्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भन्दै चित्रण गरिएकोमा आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाकी सचेतक निशा डाँगीले संसद् बहिष्कार संविधानविरोधी होइन, लोकतन्त्रभित्रको असहमतिको औपचारिक शैली भएको स्पष्ट पारिन् । “विगतमा आज सत्तामा रहेका दलहरूले पनि पटक–पटक यस्ता अभ्यास गरेका थिए,” उनले भनिन् ।
उनका अनुसार रास्वपाको आन्दोलन र बहिष्कार सत्ता पक्षलाई खबरदारी गर्न र जनताको आवाजलाई सदनसम्म पुर्याउनकै लागि हो । “लोकतन्त्र केवल सङ्ख्याको बलमा सरकार चलाउने नाम होइन, प्रतिपक्षको आवाज सुन्ने संस्कृतिमै लोकतन्त्र बस्छ भन्ने कुरा सत्ता पक्षले बिर्सन हुँदैन,” उनले चेतावनी दिइन् ।
डाँगीले सरकार आफैं अपराधमा मुछिएका व्यक्तिहरूको बचाउमा लागेको आरोप समेत लगाइन् । उनले भनिन्, “दुई महिनाभन्दा बढी समयदेखि मानव तस्करविरुद्ध हामी आन्दोलनरत छौँ, तर परिणाम शून्य छ । प्रतिवेदनहरू दराजमै थन्किएका छन् । यस पटक सरकारले आँखामा पट्टी मात्रै होइन, कानमा समेत रुवा ठोसेर बसेको छ ।”
उनले भ्रष्टाचारका मुद्दा र विगतका काण्डै–काण्डमा मुछिएका दलहरूले रास्वपालाई नैतिकतामाथि प्रश्न उठाउन खोज्नु विडम्बना भएको टिप्पणी गरिन् ।





Write your Comment