

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ २१ गतेदेखि पुनः सुरु गर्दैछ। साउन १६–१९ गते बसेको पार्टीको स्थायी समिति बैठकले बाँकी रहेका जिल्लाहरूमा जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। महासचिव देवप्रसाद गुरुङले बुधबार पठाएको सर्कुलर अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली लमजुङमा बास बस्नेछ।
यस पटक अभियान टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव मात्र रहने उल्लेख छ। यसअघि उपमहासचिवसम्मका पदाधिकारीहरू सहभागी हुने व्यवस्था थियो। गुरुङका अनुसार अभियान टोली सानो र चुस्त बनाइने उद्देश्य नेताहरूको व्यवस्थापन र जिम्मेवारीमा सहजता ल्याउनु रहेको हो।
पहिलो चरणको अभियान फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएर वैशाख १७ गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको थियो। दोस्रो चरणको मध्यपहाडी लोकमार्ग अभियान जेठ २ गते बैतडीको पाटनबाट सुरु भएर जेठ १० गते पोखरामा स्थगित भएको थियो।
मौसमी प्रतिकुलताको कारण स्थगित गरिएको दोस्रो चरणको अभियान भदौ २२ गते लमजुङ, २३ गते गोरखा, २४ गते धादिङ र २५ गते नुवाकोटमा सार्वजनिक संवाद तथा संगठनात्मक प्रशिक्षण कार्यक्रमको माध्यमबाट सम्पन्न हुनेछ। बाँकी जिल्लाहरूमा कार्यक्रम पछि तय गरिनेछ। सर्कुलर अनुसार सार्वजनिक कार्यक्रममा मौसम र सहभागितालाई ध्यानमा राखेर ठूला हलको व्यवस्था गरिने र सर्वपक्षीय प्रतिनिधित्व सुनिश्चित गरिने जानकारी पनि दिइएको छ।





Write your Comment