नाम मात्रका नमुना विद्यालय : भवन बनाउन करोडौँ, शैक्षिक कार्यक्रममा शून्य लगानी

रातोघर

 २०७७ श्रावण २०, मंगलबार  मा प्रकाशित
३९२ पाठक संख्या


नमुना विद्यालयले यसअघि नै सरकारसँग ‘एक विद्यार्थी एक ल्यापटप’ र इन्टरनेट सुविधाको प्रस्ताव गरेका थिए । तर, त्यो सरकारको बेवास्तामा प¥यो । र, लकडाउनमा काम देखाउन सकेनन् ।

– नमुना विद्यालय सञ्चालन निर्देशिका–०७४ मा भौतिकमा ६५, शैक्षिकमा २५ र व्यवस्थापकीयमा १० प्रतिशत हुने गरी योजना बनाउने उल्लेख छ । तर, बजेट कार्यान्वयन पुस्तिकामा भवन निर्माण मात्र प्राथमिकतामा छ ।

… … …

काठमाडौं पुरानो नैकापस्थित कंकाली माविले लकडाउनका वेला अनलाइन कक्षा सञ्चालन प्रयास ग¥यो । तर, कक्षा–९ देखि १२ का ४० प्रतिशत विद्यार्थी मात्र त्यसमा जोडिए, ६० प्रतिशत बाहिरै रहे । जब कि, यो सरकारको नमुना छनोटमा परेको विद्यालय हो । र, कम्प्युटर इन्जिनियरिङ पनि पढाइ हुन्छ । ‘तल्लो तहमा प्रभावकारी काम गर्न सकिएन,’ प्रधानाध्यापक विष्णु पनेरू भन्छन्, ‘विद्यालय, शिक्षक र विद्यार्थीलाई प्रविधिमैत्री बनाउन खोज्यौं, तर सरकारले भवन बनाउन मात्र बजेट दियो, चाहेअनुसारको शैक्षिक विकासका काम गर्न सकिएन ।’

बाफलस्थित ज्ञानोदय माविको कुरा फरक छ । यो विद्यालय सरकारको नमुना छनोटमा परेको छैन । लकडाउनका वेला यो विद्यालयको पठनपाठन रोकिएन । अनलाइन कक्षामा करिब ५० प्रतिशत विद्यार्थी सहभागी छन् । घरमा इन्टरनेट र उपकरण नहुनेलाई विद्यालयकै आइसिटी ल्याबमा आएर पढ्न दियो । काठमाडौंबाहिर गएका र इन्टरनेट पहुँच नभएका विद्यार्थीसँग फोनमार्फत नियमित परामर्श गर्दै गृहकार्य दियो । ‘माथिल्लो कक्षाबाट सुरु भएको अनलाइन पठनपाठन कक्षा–५ सम्म पु¥याएका छौँ,’ प्रधानाध्यापक नातिकाजी महर्जन भन्छन्, ‘तल्लो कक्षाका विद्यार्थीलाई रेडियो र टेलिभिजनबाट पढ्न भन्छौँ अनि होमवर्क दिएर पढाइ जाँच गर्छौँ ।’ त्यसैले, नमुना घोषित नहुँदैमा ज्ञानोदयलाई फरक परेको छैन ।

यी दुई उदाहरणले सरकारको नमुना विद्यालय कार्यक्रममाथि व्यंग्य गर्छन् । सरकारी नजरमा डेढ करोडको भवन मात्र नमुना हो । तर, शैक्षिक विकास र व्यवस्थापनको पाटोमा बजेट नदिँदा नमुना विद्यालयले नमुना काम गर्न सकेनन् । तर, भौतिक पूर्वाधार, शैक्षिक र व्यवस्थापकीय पाटोमा चुस्त रहेका विद्यालय नमुना विकासका लागि छनोट नभए पनि उदाहरणीय काम गर्न सफल छन् ।

कंकाली माविका प्रअ पनेरुका अनुसार लकडाउनअघि नै ‘एक विद्यार्थी एक ल्यापटप’ र इन्टरनेट सुविधाको प्रस्ताव सरकारसँग नगरिएको होइन । ‘तर, त्यो बेवास्तामा प¥यो,’ उनी भन्छन्, ‘र, कोभिड–१९ महामारी र लकडाउनका वेला काम देखाउन सकेनन् ।’
जब कि, सार्वजनिक विद्यालयलाई भौतिक, शैक्षिक र व्यवस्थापकीय रूपमा सबल बनाउन आएको अवधारणा हो, नमुना विद्यालय । तर, नमुना सूचीमा परेका विद्यालय नै पीडित देखिन्छन् । यस वर्ष थपिएका एक सयसहित नमुना विद्यालय संख्या चार सय २२ पुगेको छ । ती कुनै कोभिड–१९ संकटमा शैक्षिक क्रियाकलापमा खरो उत्रिन सकेनन् । नाम नमुना भए पनि काम नमुना देखिन सकेन ।

‘नमुना विद्यालय नाम मात्रका छन्,’ कंकाली माविका प्रअ पनेरु भन्छन्, ‘शिक्षामन्त्रीदेखि मन्त्रालयका अधिकारीसम्ममा भवन बनाएर मात्रै नमुना बन्छ भन्ने सोचाइ छ । त्यसैले कोभिड–१९ संकटमा नमुना काम गर्न नसकिएको हो ।’

नमुना मावि राष्ट्रिय सञ्जालका सचिव तथा त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका प्रअ हेरम्बराज कँडेल पनि भवन मात्र ठड्याएर विद्यालय नमुना नबन्ने बताउँछन् । अधिकांश नमुना विद्यालयलाई सरकारले भवन बनाउन डेढ करोड रुपैयाँ दिएको छ । तर, शैक्षिक विकासतर्फ थोरैले मात्र बजेट पाएका छन् । ‘नमुना विद्यालयलाई साधन स्रोतयुक्त बनाउनुपथ्र्यो, जुन भएन,’ उनी भन्छन्, ‘शैक्षिक विकासमा पर्याप्त रकम नदिने हो भने नमुना घोषणा नगरे हुन्छ ।’

नमुना विद्यालयबाट अपेक्षाकृत शैक्षिक उपलब्धि नदेखिएको शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतम बताउँछन् । ‘नमुना घोषणा नगरिएका विद्यालयले पनि राम्रो गरेका छन्,’ उनी भन्छन्, ‘पहिले भौतिक पूर्वाधारलाई मात्र रकम थियो, यस वर्ष शैक्षिकतर्फ पनि केही रकम छुट्याइएको छ । त्यसबाट शैक्षिक सुधारको पाटो सम्बोधन होला ।’

अर्बका गुरुयोजना बनाए, बजेट पाएनन्

नमुना विद्यालयले भौतिक, शैक्षिक र व्यवस्थापकीय पाटो समेटेर गुरुयोजना पनि तयार पारे । तर, योजनाअनुसार काम गर्न रकम पाएनन् । दाताबाट बजेट जुटाइदिने सरकारी अधिकारीको आश्वासन पूरा हुने लक्षणसम्म छैन । अभिमुखीकरण तालिमसहित देशभरका दुई सय २२ विद्यालयले ६÷६ लाख खर्चेर परामर्शदातामार्फत गुरुयोजना तयार पारे । तर, भवन निर्माणबाहेकमा बजेट पाएनन् ।

नमुना विद्यालयको ट्याग निल्नु न ओकल्नुजस्तो भएको विश्व निकेतन माविका प्रअ कँडेल बताउँछन् । ‘अभिमुखीकरण तालिम दिँदा विश्व बैंक र एसियाली विकास बैंकले पैसा दिने हो, मन फुकाएर योजना बनाउनुस् भनियो । र, सोहीअनुसार भौतिक, शैक्षिक र व्यवस्थापकीय योजना बनायौँ,’ उनी भन्छन्, ‘आव ०७६÷७७ देखि नमुना विद्यालयलाई दिइएको डेढ करोड भौतिक पूर्वाधारमा मात्र खर्च गर्नुपर्ने सर्त आयो, शैक्षिक सुधारतर्फ केही गर्न सकिएन ।’

उनका अनुसार नमुना घोषणा भएपछि विद्यार्थी संख्या बढेको छ । तर, सरकारी कार्यक्रम र व्यवहारले अझ अस्तव्यस्त बन्ने जोखिम छ । विश्व निकेतनमा मात्र यस वर्ष चार सय नयाँ विद्यार्थीले प्रवेश परीक्षा दिए । तीमध्ये तीन सयजना दर्ता भएका छन् ।

पाँच वर्षमा कार्यान्वयन गर्ने गरी विश्व निकेतनले ९३ करोड लागत अनुमानसहित गुरुयोजना बनायो, जसमा छात्रावास, संग्रहालयलगायत पूर्वाधार, शैक्षिक र व्यवस्थापकीय पक्ष समेटिएको छ । ‘६ लाख खर्चेर गुरुयोजना बनायौँ,’ कँडेल भन्छन्, ‘वार्षिक डेढ करोड मात्र आउने जानकारी भएको भए त त्यो रकम अन्यत्रै खर्च गथ्र्यौँ नि ।’

कतिपय विद्यालयले त स्विमिङ पुलसम्म निर्माण गर्ने गुरुयोजना बनाएका छन् । त्यस्ता विद्यालयले गुरुयोजना पूरा गर्न एक अर्ब ५२ करोड लाग्ने अनुमान गरेका छन् । यसअघि नै भवन तयार भइसकेका कतिपय विद्यालय सरकारबाट पाएको डेढ करोड रुपैयाँ खर्च गर्न सक्ने अवस्थामा छैनन् । किनकि, भवन चाहिएको छैन, शैक्षिक कार्यक्रममा खर्च गर्न पाइँदैन ।

‘बृहत् स्वरूपका विद्यालय बनाउने उद्देश्यले यो अवधारणा आएको हो,’ केन्द्रका निर्देशक गौतम भन्छन्, ‘तर, एक हजार विद्यालयलाई नमुना बनाउन स्रोत धेरै आवश्यक भएपछि बजेट सीमित भएको हो ।’

पहिलो वर्ष गुरुयोजना बनाउने दुई सय २२ विद्यालयले ५० करोडदेखि डेढ अर्बसम्मको लागत अनुमान गरेका छन् । ‘गुरुयोजनाअनुसार रकम र स्वायत्तता दिएको भए साँच्चै नमुना विद्यालय बन्ने थिए,’ पनेरु भन्छन् । मन्त्रालयका अधिकारीले भौतिकमा ६५, शैक्षिकमा २५ र व्यवस्थापकीयमा १० प्रतिशत हुने गरी योजना बनाउन भनेका थिए । नमुना विद्यालय सञ्चालन निर्देशिका–०७४ पनि त्यही व्यवस्था छ । बजेट कार्यान्वयन पुस्तिकामा भने भवन निर्माण मात्र प्राथमिकतामा राखियो ।

यसअघि व्यवस्थापकीय योजनाअन्तर्गत तालिम, शैक्षिक अवलोकन, भ्रमण, प्रोत्साहनलगायत गतिविधिमा पनि बजेट थियो, जुन सरकारले कटौती ग¥यो । शैक्षिक र व्यवस्थापकीय पाटोमा बजेट कटौती भएपछि भौतिक पूर्वाधार विकासमा लाग्नुपरेको केन्द्रका निर्देशक गौतम बताउँछन्

नयाँ पत्रीका

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban