

सिमरा : जिल्लामा लकडाउन चलिरहेको छ कोरोनाको त्रासले सबै जना घरको चौघेराभित्रै बस्न बाध्य छन्। व्यापार व्यवसाय, उद्योगधन्दा सबै ठप्पै छ। ‘बाउ म कमाउन जान्छु, यत्रो दिन त्यतिकै घर किन बस्ने’ भन्दै मानबहादुर रुम्बा आफ्नो बुवाको अनुमति लिएर असार २५ गते घरबाट निस्किए।
वीरगन्जको ठेकदारले बोलाएको छ भन्दै रुम्बासँगै पिसिआर परीक्षण नेगेटिभ रिपोर्ट लिएका गाउँका ६ युवा सिन्धुपाल्चोकतर्फ लागे। मेलम्ची नगरपालिकाको कबर्डहल बनाउने कामका लागि बारा र पर्साबाट ९ जनाको समूहमा गएका उनीहरु मंगलबार काम सकेर काठमाडौं फर्कने कार्यक्रम थियो। ‘आज काम सकिन्छ बाउ हामी भोलि काठमाडौं फर्कन्छौं’, सोमबार साँझ छोरासँग भएको टेलिफोन कुराकानी सम्झँदै हीरालालले भने, ‘राति २ बजे त सबैलाई पहिरोले पुरिएर एकै चिहान बनाएछ।’
रुम्बाको छोरासँगै काँध मिलाएर असार २५ गते घरबाट निस्केका विक्रम थिङको पनि बुधबार एकाबिहानै दैलोमा शव आउँदा बाबु वीरबहादुर थिङलाई असह्य पीडा भयो। ‘हाम्रो छोराहरुलाई ठेकदारले अप्ठ्यारो ठाउँमा राखेको रहेछ त्यहाँको प्रशासनले त्यस्तो ठाउँमा नबस्नु भनिदिएको मात्रै भए आज छोराहरुको ज्यान जाने थिएन’, थिङले भने ‘भोलिपल्ट घर आउने भनेर सोमबार राति ११ बजेसम्म काम गरेरे कोठामा भात खाएर सुतेको छोरालाई साढे २ बजे पहिरोले थिचेछ’, आफूसँग भएको सूचना सम्झँदै उनले भने।
रुम्बा र थिङसँगै सोमबार (साउन १९) गते सिन्धुपाल्चोकमा गएको पहिरोमा परेर ८ जनाको ज्यान गएको थियो, जसमध्ये ६ जना जितपुरसिमरा–१ का र २ जना वीरगन्जका छन्। मृत्यु हुनेमध्ये ६ जना बाराका एकै गाउँका युवा हुन्। ती सबै १५ देखि २५ वर्ष उमेर समूहका थिए।
कोरोना संक्रमण फैलन नदिन सरकारले जारी गरेको लकडाउनका बीच केही आम्दानी गर्ने मनसायले पिसिआर परीक्षण गरी स्थानीय प्रशासनको अनुमतिमा उनीहरु सिन्धुपाल्चोक गएका थिए। मृतकहरु राजेश चौधरी, शिवबालक धामी, विक्रम थिङ, मानबहादुरु रुम्बा (नानु), सिमन बहादुर घलान, सोनम लामा छन्। त्यस्तै वीरगन्जका प्रदीपकुमार चौरसिया र राजेन्द्रप्रसाद चौरसिया छन्।
असार २५ गते सँगै गएका ९ मध्ये १ जना गम्भीर घाइतेको काठमाडौंमा उपचार भइहरेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। मृतक सबैको बुधबार बिहान दाहसंस्कार भएको छ। कामका गएका छोराहरु राति सुतिरहेको स्थानमा पहिरोले ज्यान गएपछि अहिले गाउँ नै शोकमा डुबेको छ।
सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बज्र गुरु कन्स्ट्रक्सनमार्फत प्रदेश सरकारको सहयोगमा कबर्ड हलको निर्माणकाे काममा बाराका युवा सहभागी भएको बताए। ‘घटना दुखद् हो, उहाँहरु राति सुतेको ठाउँ जोखिमपूर्ण त थिएन तर लगातार आएको वर्षाका कारण घटना हुन गयो’, प्रजिअ ढकालले भने।
घटनामा स्थानीय प्रशासनले चरम लापरबाही गरेको भन्दै वर्षायाममा जोखिमपूर्ण क्षेत्रमा निर्माणको काममा खटाउने ठेकदार कम्पनीलाई कारबाही गर्न मृतकका परिवारले माग गरेका छन्।
श्रोत: थाहा खबर





Write your Comment