

बकैया । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आफ्नो अभियान अन्तर्गत आज बागमती प्रदेश, मकवानपुरको बकैया गाउँपालिकामा गाउँपालिका भित्रका सम्पूर्ण विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन माग गरेको छ ।
अखिलका केन्द्रिय सदस्य नवीन मिश्रको नेतृत्वमा पालिका उपाध्यक्ष सरला बोलखेलाई विद्यार्थीलाई खोप लगाउन माग गरिएको हो । सरकारले सबै खालको सेवामा रहेका व्यक्तिहरु, फ्रन्टलाइनर तथा जेष्ठ नागरिक आदिलाई खोप लगाइसकेको अवस्थामा विद्यार्थीहरुले भने खोप लगाउन नपाएको सदस्य मिश्रले बताए ।
उपाध्यक्ष बोलखेलाई ज्ञापन पत्र बुझाउदै केन्द्रिय सदस्य मिश्रले विद्यार्थीलाई खोप नलगाई विद्यालय, क्याम्पस संचालन गर्न सकिने अवस्था नरहेको बताएका थिए ।
उपाध्यक्ष बोलखेले पालिका यो विषयमा सकारात्मक रहेको बताउदै साउन २८ गते पछिका खोप कार्यक्रमहरुमा विद्यार्थीहरुलाई परिचय पत्र र नागरिकता बोकेर आएकै आधारमा खोप लगाउने वातावरण बनाउने बताईन्।
उनले खोप लगाउने विद्यार्थीहरुलाई सहजीकरण गर्न अनेरास्ववियु बकैयाका संयोजक मनोज राज नेपाल र सह संयोजक बिश्वास मगरलाई अनुरोध गरिन । विद्यार्थी परिचय पत्रकै आधारमा खोप उपलब्ध हुने प्रतिक्रिया पछि केन्द्रिय सदस्री मिश्रले उपाध्यक्ष बोलखलाईे धन्यवाद समेत दिएका थिए ।
खोप माग पत्र बुझाउने क्रममा अनेरास्ववियुको केन्द्रिय सदस्य नवीन मिश्र, जिल्ला कमिटी सदस्यहरु भुपेन्द्र राना, राजिब परियार, बकैया गाउँपलिका संयोजक मनोज राज नेपाल तथा सहसंयोजक बिश्वास मगरको उपस्थिती रहेको थियो ।





Write your Comment