

२५ चैत, हेटौंडा । बिहीबार बिहान साढे ९ बजे भेटघाटको समय दिएकी हेटौडा उपमहानगरपालिकाकी उपप्रमुख मिनाकुमारी लामा साढे ११ बजे मात्रै आफ्नो कार्यकक्षमा आइपुगिन् । ढिला हुनुको कारण थियो स्थानीय तहको चुनाव । कार्यालय आउनुअघि तीनवटा चुनावी कार्यक्रम सकेर आएको लामाले सुनाइन् ।
लामालाई मात्र होइन, मकवानपुरमा सबै दलका नेतालाई चुनाव लागेको छ । वागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा नगरीमा चुनावी सरगर्मी बढ्दै गएको छ । दलहरु उम्मेदवार टुंग्याउने ध्याउन्नमा छन् ।
एमालेले उपहानगरका १९ वडासहित जिल्लाभरका ९२ वडाका वडाध्यक्ष र सस्यका उम्मेदवार टुंग्याउँदै छ । सत्तारुढ गठबन्धन आवद्ध दलहरु भने वडातहसम्मै चुनावी गठबन्धनको तयारीमा छन् । एकपटक संयुक्त बैठक गरिरहेका दलहरु अहिले आआफ्नो शक्ति केलाउँदैन छन्, जसले गठबन्धनभित्र बागबन्डाको आधार तय गर्ने छ ।्
एमालेमा उम्मेदावारको हानाथाप
पुरानो नगरमध्ये एक हेटौंडामा एमालेले लामो समयदेखि नेतृत्व गर्दै आएको छ । २०७४ मा एमालेले १२ वडासहित प्रमुख र उप्रमुख दुवै जितेको थियो । त्यसबेला नेपाली कांग्रेस र माओवादी मिल्दा पनि विजयी बनेको एमाले पार्टी फुटका बाबजुत पनि हौसिएकै छ । उसले यसपटक पनि आफूले नै जित्ने दावी गरिरहेको छ ।
‘गठबन्धनको प्रतिष्पर्धामा हामी २०७४ मा पनि खरो उत्रिएकै हौं,’ एमालेको मकवानपुर जिल्ला अध्यक्ष एकलालाल श्रेष्ठ भन्छन्, ‘अघिल्लो पटक पनि गठबन्धनलाई जितेकाले कुनै नौलो लागेको छैन । यो पटक पनि जनमतका आधारमा परास्त गर्छौं ।’
एमाले पार्टीभित्र फेरि पनि जितिने आँकलन भएकै कारण होला, उपमहानगर प्रमुखको उम्मेदवार बन्न हानथाप नै छ । प्रमुख पदका लागि चारजना नेताले खुलेरै दावेदारी प्रस्तुत गरेका छन् । हालका उपमहानगर प्रमुख हरिबहादुर महत दोहोरिन चाहान्छन् । पाँच वर्षमा नगर प्रमुखका रुपमा आफूले राम्रो काम गरेकाले दोहोरिन चाहनेको महतले बताए ।

एमाले केन्द्रीय सदस्य समेत रहेका जिल्ला समन्वय समितिका संयोजक रघुनाथ कुलाल पनि प्रमुखको दावेदार हुन् । ‘प्रमुखका लागि म सक्षम छु,’ उनी भन्छन्, ‘ठोस ढंगले उपमहानगरलाई हाँक्छु भन्ने विश्वासका साथ पार्टी समक्ष दावी पेस गरेको छु ।’
अर्का दावेदार हुन, अनन्त पौडेल । उनी एमालेको वागमती प्रदेशको संगठन विभाग प्रमुख हुन् । पौडेल संविधानसभा सदस्य समेत हुन् ।
त्यस्तै रामेश्वर रानाले पनि प्रमुखको दाबी गरेका छन् । पार्टीको केन्द्रीय सदस्य रहेका राना मकवानपुर जिल्ला इन्चार्ज समेत हुन् । जिल्ला विकास समितिको सभापति भएर काम गरेको अनुभव समेत उनीसँग छ ।
जिल्लाका हस्तीहरु नै प्रमुखको दावेदारीमा उत्रिएपछि एमालेलाई उम्मेदवार टुंग्याउन सकस छ । एमाले जिल्ला अध्यक्ष श्रेष्ठका अनुसार छिट्टै सबै पालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरका प्रमुख, उपप्रमुखका उम्मेदवारको छनोट हुनेछ ।
सकेसम्म सर्वसम्मतिको प्रयास गर्ने र नभए चुनाबाट टुंग्याउने उनको भनाइ छ । ‘हामी सकेसम्म सहमति, नभए चुनावबाट पनि टुंग्याउँछौं,’ श्रेष्ठले भने, ‘उपमहानगरमा दावेदारको संख्या धेरै छ । त्यो स्वभाविक पनि हो । त्यसलाई हामी एउटा विधि प्रक्रियाबाट टुंग्याउँछौं ।’
विधि र प्रक्रिया भनेको सर्वसम्मत हुन नसेको अवस्थामा पार्टीको आन्तरिक चुनावबाट उम्मेदवार टुंग्याउने हो । एमालेको हेटौंडा उपमहानगर कमिटीका सदस्यहरुले मतदान गरेर उम्मेदवार चयन गर्ने छन् । १ सय ७ सदस्यीय नगर कमिटीमा बहुत ल्याउने नै एमालेको तर्फबाट उपमहानगर प्रमुखको उम्मेदवार बन्ने छ ।
आन्तरिक शक्ति जाँच्दै गठबन्धन
एमालेले वडाअध्यक्ष र सदस्यको उम्मेदवार टुंग्याउने आँटेर प्रमुख, उप्रमुखको उम्मेदवार तय गर्ने तर्फ लाग्दा गठबन्धन भने आन्तरिक गृहकार्यमै छ ।
गठबन्धन आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी २०७४ को चुनावी परिणाम र हालको सांगठानिक अवस्थामा आधारित भएर आन्तरिक मुल्यांकनमा जुटेका छन् । त्यसपछि गठबन्धनभित्र दावेदारी प्रस्तुत गर्ने काम हुने देखिन्छ ।
‘गठबन्धनको बैठक चलिरहेको छ,’ नेपाली कांग्रेस मकवानपुरका सभापति वुद्ध लामा भन्छन्, ‘गठबन्धन आवकद्ध दलहरुको सांगठनिक स्वरुप, २०७४ मा जितेको मतदाताको परिणामका आधारमा आआफ्ना पार्टीको मुल्यांकन हुँदैछ ।’
२०७४ को चुनावी परिणामलाई समेत आधार बनाएर गठबन्धनभित्र उपमहानगरको प्रमुख, उप्रमुख र वडाहरुको भागवण्डा हुनेछ । यद्यपि भागबन्डाको विधि तय भइनसकेको माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक सार्केस घलान बताउँछन् । ‘कुन कुन विधिमा जान सकिन्छ भन्ने बारेमा छलफल चलिरहेको छ,’ उनले भने, ‘हाम्रो पार्टीको आन्तरिक तयारी छ । संयन्त्रमै गएर नटुंग्याई बाहिर दावी पेस गर्दा राम्रो हुँदैन ।’
तर गठबन्धन भित्रबाट उपमहानगर प्रमुखमा दाबी गर्नेहरु पनि खुलेका छन् । कांग्रेसबाट दुई जना आकांक्षी देखिएका छन् । आनान्दराम पराजुली र प्रभातकुमार दाहालले कांग्रेसबाट उपमहानगर प्रमुखमा दावेदारी पेश गरेका छन् ।
पराजुली कांग्रेसको पूर्व नगर सभापति हुन् भने हालै जिल्ला सभापतिका लागि भएको निर्वाचनमा दोस्रो भएका थिए । उनी २०७४
मा पनि कांग्रेसबाट उपमहानगरको मेयरका लागि लडेका थिए । दाहाल नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री हुन् ।
माओवादीबाट ललित घलान र शंकर बानियाँले मेयर बन्ने इच्छा देखाएका छन् । माओवादीले उपमहानगरमा जितेका २ वडाध्यक्षमध्ये एक एमालेमा प्रवेश गरेपछि घलना माओवादी केन्द्रका एक मात्रै वडाध्यक्ष हुन् । उनी १२ नम्बर वडाका वडाध्यक्ष हुन् ।
त्यस्तै एकीकृत समाजवादीबाट हाल नगर उप्रमुख मिनाकुमारी लामा र जिल्ला अध्यक्ष श्रीधर पोखरेल दावेदार हुन् ।
एकीकृत समाजवादीलाई नेतृत्व !
गठबन्धनका दलहरुमध्ये शक्तिका हिसाबले नेपाली कांग्रेस नै उपमहानगर प्रमुखको स्वभाविक दावेदार मानिएको छ । किनभने २०७४ मै माओवादी केन्द्रले प्रमुखमा नेपाली कांग्रेसलाई छाडिदिएर उप्रमुख आफूले लिएको थियो ।
एमाले उम्मेदवारसँग कांग्रेस उम्मेदवार जम्मा ६१५ मतले पराजित भएका थिए । एमालेका हरिबहादुर महतले २३ जार १२४ ल्याउँदा कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५९ मत पाएका थिए । वडातर्फ कांग्रेसले १९ मध्ये ५ वटा जितेको थियो भने माओवादी केन्द्रले २ वडा मात्रै जितेको थियो ।
एमालेबाट विभाजित भएर आएको एकीकृत समाजवादीका उपप्रमुख, १ वडाध्यक्ष र केही वडासदस्य मात्रै छन् ।
यति हुँदाहुँदै पनि उपमहानगर प्रमुखको नेतृत्व गठबन्धनबाट एकिकृत समाजवादीले पाउने चर्चा नेताहरुले आनौपचारिक रुपमा गरिरहेका छन् ।
यसको दुई कारण छ । पहिलो, देशभर तालमेल गर्दा समाजवादीलाई हटौंडाको प्रमुख दिएर भागबण्डा मिलाउने सक्ने सम्भावना धेरै हुनु ।
दोस्रो, पौडेल र दाहालमध्ये कसलाई रोज्ने भन्ने कांग्रेसमा समस्या हुनु । कांग्रेसका वागमती प्रदेश सभापति इन्द्र बानियाँको रोजाइ पनि एउटा कारण हो । बानियाँ आफ्नो गृहनगरमा दाहाललाई नगर प्रमुखको उम्मेदवार अघि सार्न चाहन्छन् । तर, लोकप्रिय पोडैल छन् । उनको लोकपि्रयतालाई बेवास्था गरेर दाहाललाई अघि सार्न बनियाँलाई सहज छैन ।
आन्तरिक लडाइँ गर्नुभन्दा उपमहानगर प्रमुख पद एकीकृत समाजवादीलाई दिन कांग्रेस पनि तयार हुने एकथरिको अनुमान छ । यो अवस्थामा केन्द्रीय निर्णय लागू हुन्छ भन्नलाई कांग्रेस जिल्ला सभापतिलाई पनि सजिलो हुनेछ ।
अघिल्लो चुनाव अनुसार कांग्रेस नै स्वभाविक दावेदार भएपनि गठबन्धनको नीति अनुसार चल्दा के हुन्छ भन्ने नसकिने जिल्ला सभापति लामा बताउँछन् । ‘विगतको चुनाव हेर्ने हो भने कांग्रेसको एक मात्र दाबी हो,’ लामा भन्छन्, ‘हाम्रो यसमा चाहना पनि हो, इच्छा पनि हो । तर यो जिल्लाले चाहेर गठबन्धन भएको होइन, राष्ट्रिय राजनीति अनुसार भएको हो । त्यसैले राष्ट्रिय तहका नेताहरुले जे गर्नुहुन्छ, त्यही हुन्छ ।’
राप्रपा ‘फक्याक्टर’
सत्तारुढ गठबन्धन तालमेलको प्रयासमा छन्, एमालेसँग गर्विलो विगत छ । तर एमाले २०७४ मा जस्तो सिंगो छैन ।
विभाजित एमालेले चुनावको समना गर्नुपर्ने छ । एमाले नेताहरुले विभाजनको असर न्यून रहेको दाबी गरेपनि उपप्रमुख र एक वडाध्यक्ष लगायत केही जनप्रतिनिधि एकीकृत समाजवादीतिर छन् । केन्द्र सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको गृहनगर पनि हो । त्यसैले पार्टी विभाजनको अपर पर्ने देखिन्छ ।
त्यो अवस्थामा राप्रपा नेपाल निणर्ायक फ्क्टर बन्नसक्छ । २०७४ को चुनावमा राप्रपा उपमहानगरभित्र तेस्रो शक्ति थियो ।
प्रमुखमा मधुकरप्रसाद अधिकारीले ६ हजार ८५७ मत ल्याएका थिए । राप्रपा पनि फुटेको छ । हेटौंडाका कमल थापाले राप्रपाबाट अलग भएर राप्रपन नेपाल बनाएका छन् र हेटौंडामा उनको प्रभाव देखिन्छ ।
राप्रपा नेपाल एमालेसँग तालमेल गर्न तयार छ । एमाले नेताहरु पनि राप्रपाले सघाउने सम्भावना रहेको बताउँछन् ।
थपिएको मत पनि यो चुनावमा अर्को फ्याक्टर हो । निर्वाचन आयोगका अनुसार हेटौंडा उपमहागरमा यसपटक २० हजार ८३४ मतदाता थपिएका छन् । अब उपमहानगरमा कुल मतदाता ८३ हजार ६३९ भएका छन् ।
थपिएको मत कता जान्छ अहिल्यै केहि भन्न सकिन्न । कांग्रेस जिल्ला सभापति लामा भने गठबन्धनले जित्ने दाबी गर्छन् ।
‘गठबन्धन गरेर गयौं भने हाम्रो जित सुनिश्चित हुन्छ,’ उनी भन्छन्, ‘हिजो गठबन्धन गर्दा मत व्यवस्थित गर्न नसेकको कारण हामीले हारेका हौं । यसपाली एमालेबाट फुटेको एकीकृत समाजवादीको मत पनि राम्रै आउने सम्भावना छ । थोरै भए पनि जनता समाजवादीको मत पनि जोडिन्छ ।’





Write your Comment