

भोजपुर । वन जंगल तथा प्रशस्त घाँसे मैदान भएको कारण भोजपुरका ग्रामीण भेगका अधिकांश मानिसहरूले पशुपालन गरिरहेका छन् । तर, उनीहरूले सोचेजस्तो आम्दानी भने लिन सकेका छैनन् । दूरदराजका किसानलाई उत्पादन भएको दूधलाई बजारसम्म लैजान नै समस्या छ ।
जसको कारण उत्पादित दूध बिक्री वितरण गर्नुभन्दा पनि आफैले खपत गर्नुपर्ने अवस्था छ । गाउँघरमा प्रशस्तमा मात्रामा पशुपालन हुने भए पनि बजारमा दूध तथा दुग्धजन्यवस्तुको भने अभाव नै रहन्छ ।
व्यावसायिक रूपमा केही किसानहरूले दूध उत्पादनको लक्ष्य लिएर व्यावसायिक रूपमा पशुपालन गरिरहेका छन् । तर, ती कृषक पनि लगानी तथा मेहनतअनुसारको आम्दानी लिन नसकेको गुसानो गर्छन् । उनीहरूलाई उत्पादित दूध सहज रूपमा बजारसम्म जैलाने वातावरण छैन ।
सदरमुकाम आसपासमा पर्ने बोखिम, दावा, पोखरे, खुरीला, ढुंगेलगायत ठाउँका मानिस पराम्परागत रूपमा भए पनि पशुपालन व्यवसाय गरिरहेका छन् । तर, उनीहरूमध्ये बजारमा ल्याएर दूध बिक्री गर्न कमै मात्र उत्सुक देखिन्छन् ।
ग्रामीण भेगमा प्रशस्त मात्रामा दूधको उत्पादन भए पनि सडक तथा अन्य विविध कारणले किसानले बिक्री गर्न असम्भव छ । बजारमा लैजान समस्या हुने भएपछि ती भेगका मानिस खास व्यावसायिक रूपमा दूध उत्पादनमा लागेका छैनन् । स्थानीय सरकारले उपयुक्त वातावरण मिलाई दिए व्यावसायिक रूपमा लाग्ने किसान बताउँछन् ।
बजारसम्म दूध ल्याएर बेच्न किसानलाई सडकको समस्या छ । केही समय बजारमा ल्याएर दूध बेच्न थालेका किसान पछिल्लो समयमा आएर बेच्न छाडेको अनुभव सुनाउँछन् । एकदेखि डेढ घण्टा लगाएर बिक्री गरेको दूधको खास आम्दानी नहुने भोजपुर नगरपालिका–५ बोखिमका भैंसीपालक कृषक रूपनारायण फुयालले बताए ।
किसान फुयालले भने, ‘मैले केही समय बजारमा लगेर दूध बेचे । आउँदा र जाँदा एक जनाको बिहान बित्छ । बजारका होटलमा लग्यो नियमित रूपमा लिँदैनन् । डेरीहरूले पनि असार १५, तीजलगायतका समयमा भने जति पनि लिन्छन् अरूबेला यो वा त्यो बहाना बनाएर किसानलाई दुःख मात्र दिएको देख्छु । त्यही भएर पनि मैले दूध बिक्री गर्न छाडे ।
हाम्रो टोलमा व्यावसायिक नभए पनि एक घरमा ८÷१० लिटर दूध उत्पादन हुन्छ ।’ व्यावसायिक रूपमा दुग्ध व्यवसाय सञ्चालन गरेकाहरूले दही, घिउ, पनिर, छुर्पीलगायतको मूल्य बर्सेनि बढाए पनि दूधको मूल्य बढाएर दिन नमान्ने समस्याले पनि दुध बिक्री गर्न छाडेको अर्का स्थानीय कृषक हर्कलाल लुइँटेलको भनाइ छ ।
‘हामी कृषकले उद्योगमा लगेर बिक्री गर्दा ४५ देखि ५५ रुपैयाँ पाउँछौं,’ कृषक लुइँटेलले भने, ‘मैले बिक्री गर्न थाल्दा यही मूल्य थियो । उद्योगले प्रति केजी ८ सयमा बिक्री हुँदै आएको घिउको मूल्य १२ सय, पनिर ८ सय र ८० रुपैयाँमा बेच्दै आएको दही ९० रुपैयाँ पुगेको छ । तर, दूधको मूल्य बढाउन व्यवसायी मान्दैनन् । हामी किसान मारमा छौं । यो कसले सुनिदिने ?’ दूधको बजारको व्यवस्थापन गर्न विभिन्न ठाउँमा कलेक्सन केन्द्र स्थापना गर्ने भन्दै चिलिङ भ्याट राखिएका छन् । तर, ती लाखौंका सामग्री प्रयोगविहीन भएका छन् भने उत्पादन भएको दूध खेर गइरहेको किसान बताउँछन् ।
दूग्ध उद्योग क्षेत्रकोे विकासका लागि प्रदेश सरकार तथा पशु र कृषि कार्यालयले प्रोत्साहन गर्दै आएका छन् । तर, अनुदान लिएका उद्योगी तथा व्यवसायीले यस क्षेत्रको विकास र विस्तारमा लगानी गर्न नसकेको स्थानीयको भनाइ छ । सरकारले अनुदानको कार्यक्रम सञ्चालन गर्दा अनुगमन तथा प्राथमिकतालाई कडाइका साथ पालन गराउनुपर्ने आवश्यक रहेको उनीहरूको ठहर छ ।
उद्योगको विकास विस्तार गर्नुको सट्टामा व्यवसायी अनुदानमुखी बन्दा उद्योगको विकासभन्दा पनि व्यक्तिलाई मात्र लाभ पुगेको सरोकारवाला पक्षले बताउने गरेका छन् । समय÷समयमा यहाँका दुग्ध उद्योग तथा व्यवसायीले विभिन्न ठाउँबाट अनुदान सहयोग पाएका छन् तर ती उद्योगहरूले खास उपयुक्त ढंगले यस क्षेत्रको विकासमा लगानी नगरेको स्थानीयको भनाइ छ ।
बजारमा विभिन्न समयमा दूधको अभाव हुनुमा व्यवस्थापन राम्रो नभएको स्थानीय कृषकको भनाइ छ । यहाँ उत्पादन भएको दूधलाई बजारीकरणका लागि सहजता प्रदान गर्नसके बजार धान्न समस्या नहुने स्थानीय किसान रामबहादुर कार्कीले बताए । किसान कार्कीले भने, ‘केही व्यवसायीले नाफालाई मात्र ध्यान दिएर यहाँको उत्पादनलाई प्राथमकिता दिन छाडेर बाहिरबाट दूध ल्याएर बेच्छन् । नियमित रूपमा दूध लिन नमानेपछि किसानले बजारमा दूध ल्याउन छाडेको अवस्था पनि छ । स्थानीय सरकार तथा अन्य पक्षले बजारीकरणमा ध्यान दिँदै दूधको बिक्रीको सुनिश्चिता गर्न सकेमा यहाँको उत्पादन बाहिरसम्म पठाउन सकिन्छ ।’
करिब १० वर्ष अघिबाट भोजपुर बजारमा गणेशथान दूग्ध उद्योग सञ्चालन गर्दै आएका ज्ञानबहादुर कार्कीले बजारमा माग धान्न नसकेको बताए । किसानहरूमा दूध विक्री गर्ने धारणा अझै विकास हुन नसेको उनको भनाइ छ । व्यवसायी कार्कीले भने, ‘हाम्रो ठाउँका किसानहरूमा दूध बिक्री गर्ने बानीको विकास हुन सकेको छैन ।
सबै किसानहरूले बिक्रीका लागि ल्याउने हो भने बजारको मागलाई पूरा गर्न सकिन्छ । उनीहरूमा अझै पनि बिक्री गर्नुभन्दा आफंैले घिउ बनाएर बेच्दा फाइदा हुने धारणा छ । जसको कारण हामीले धनकुटाबाट दूध दही ल्याएर बजारको माग पूरा गर्नुपर्ने अवस्था छ ।’





Write your Comment