(एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति ६ महिनाभित्र सच्याउन मिल्ने

रातोघर

 २०८० अषाढ २२, शुक्रबार  मा प्रकाशित
२९८ पाठक संख्या


काठमाडौं ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।विद्यार्थीको  ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्नेछ । प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला पर्चा र सिफारिस गरेको आधारमा मात्रै बोर्डले नाम, थर र जन्ममिति सच्याउन मिल्छ ।

यदि छ महिना ढिला भएको अवस्थामा सीडीओले पनि फैसला पर्चा बनाउन नमिल्ने नियमले उल्लेख गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘अहिलेको अवस्थामा प्रमाण पत्र पाएको ६ महिनाभित्र मात्रै सच्याउन सकिने अवस्था छ । त्यसैले यदि कसैको सच्याउन पर्ने भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीको फैसला पर्चा र सिफारिस लिएर आउनु हुन अनुरोध छ ।’

यदि कसैले नागरिकता प्रमाण पत्र लिइसकेको र सोही अनुसार सच्याउन पर्ने भए पनि ६ महिनाभित्रै सच्याउनको लागि निवेदन दिनुपर्नेछ । ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार नागरिकता प्रमाणपत्रमा उमेर, नाम र जात संशोधन गर्न सीडीओले संशोधन गर्नुको आधारहरू समेत उल्लेख गरेर संशोधन भएको थर ठहर्ने गरी निर्णय गरेको भन्ने फैसला पर्चा खडा गरी नियमावली अनुसार परीक्षा नियन्त्रण कार्यालयलाई थर सच्याउनको लागि सिफारिस सहित पठाउनुपर्छ ।

यी सबै प्रमाणहरू जुटाएर एसईईको प्रमाण पत्र पाएको ६ महिना भित्रै बोर्डमा आइपुग्नुपर्ने हुन्छ ।

बोर्डको अनुसार ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ व्यवस्थाबारे विद्यालय, विद्यार्थी, अभिभावक तथा शैक्षिक संघसंस्थाहरू जानकार नहुँदा धेरै विद्यार्थी समस्यामा परेका छन् । तोकिएको समयावधि भन्दा ढिलो सच्याउन आउने विद्यार्थीको संख्या धेरै भए पनि नीति संशोधन नहुँदा विद्यार्थीको समस्या समाधान हुन नसकेको बोर्डले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban