बारामा समयमै खर्च विवरण सार्वजनिक नगर्ने १२६ जना उम्मेदवारलाई जरिवाना

रातोघर

 २०८० श्रावण ११, बिहिबार  मा प्रकाशित
३०८ पाठक संख्या


बारा ।

निर्वाचन आयोगले बाराको चार निर्वाचन क्षेत्रका एक सय २६ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक नगरेको भन्दै आयोगले प्रतिनिधिसभातर्फ ४९ र प्रदेशसभातर्फ ७७ उम्मेदवारलाई जनही १५ हजारका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।

जरिवानामा पर्ने प्रतिनिधिसभाको उम्मेदवारको सूचीमा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी, नेकपा एमालेका नेता एकवाल मियाँ, स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेसहित ४९ जना छन् ।

यसैगरी प्रदेशसभातर्फ नेकपा एमालेका देवनारायण थारु (चौधरी), नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ, नेपाली कांग्रेसका रमेश दंगाल, जसपाका भरतबहादुर खड्का, स्वतन्त्र उम्मेदवार शारदा शङ्कर कलवारसहित ७७ जना छन् । चौधरी र कलवार निर्वाचित सांसद हुन्  भने अन्य निर्वाचनमा पराजित उम्मेदवार हुन् ।

निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम देशभरबाट प्रतिनिधिसभातर्फ एक हजार ३७ र प्रदेशसभातर्फ एक हजार तीन सय ९८ जना उम्मेदवार गरी दुई हजार चार सय ३५ उम्मेदवारलाई जरिवाना गरिएको आयोगले जनाएको छ । जरिवानामा परेका उम्मेदवारलाई सात दिन भित्र खर्च विवरण सार्वजनिक गर्न र ३५ दिनभित्र जरिवानाबापतको रकम बुझाउन समय दिएको छ ।

जरिवाना नबुझाउने उम्मेदवारले आगामी एक निर्वाचनमा उम्मेदवार हुन नपाउने र जरिवानाबापतको रकम सरकारी बक्यौता सरह असुल उपर गरिने  जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban