एक महिनामै प्रतिक्यारेट १४ प्रतिशतले बढ्यो अण्डाको मूल्य

रातोघर

 २०८० श्रावण ११, बिहिबार  मा प्रकाशित
४४० पाठक संख्या


गोंगबु–बानियाटारकी शर्मिला पाठक एकाबिहानै नजिकैको किराना पसल पुगिन्। भान्सामा सकिएका आवश्यक सामान किनिन् बिल देख्दा उनलाई अचम्म लाग्यो।एक महिनाअघि प्रतिक्यारेट बढीमा चार सय ५० रूपैयाँमा पाइरहेको अण्डाको मूल्य अहिले पाँच सय १० रूपैयाँ थियो। उनले पसलेलाई सोधिन्–कति धेरै महँगिएको हो अण्डा?हामीले पनि महँगै झारेका हौं, एक क्यारेट अण्डा बेच्दा पाँच/दश रूपैयाँ पनि फाइदा हुँदैन,’ पसलेले भने।

‘अब त अण्डा किनेर खान नसकिने भयो,’ शर्मिलाले भनिन्, ‘योभन्दा त कुखुराको मासु नै सस्तो।’ शर्मिलाले मात्रै होइन यो मूल्य सबै उपभोक्ताले तिर्नु परेको छ। यो मूल्यअनुसार एक महिनाको तुलनामा १४ प्रतिशतले अण्डाको मूल्य बढेको देखिन्छ। सरकारले अनुगमन नगर्दा उपभोक्ताले बढी मूल्य तिर्नुपरेको अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी बताउँछन्।

‘बिचौलियाले बढी मूल्य पाइरहेका छन्। सरकारको अनुगमन छैन,’ उनले भने। उनका अनुसार तुलनात्मक रूपमा अहिले अण्डाको मूल्य बढेको छ तर त्यसको बढी फाइदा बिचौलियाले पाइरहेका छन्।कुखुरा उत्पादक संघले जेठमा प्रतिक्यारेट ठूलो अण्डाको मूल्य चार सय ५ र मध्यमको तीन सय ८० रूपैयाँ तोकेको थियो। त्योभन्दा अघि ठूलो अण्डा प्रतिक्यारेट तीन सय ५० देखि ६० र मध्यम अण्डा तीन सय २५ देखि ३० रूपैयाँ थियो।

अण्डा उत्पादन घटेको भन्दै संघले फेरि असारमा ठूलो अण्डामा प्रतिक्यारेट २५ रूपैयाँ बढाएर चार सय ३० रूपैयाँ पुर्‍यायो। त्यस्तै, मध्यम अण्डामा प्रतिक्यारेट ३५ रूपैयाँ बढाएर चार सय १५ रूपैयाँ पुर्‍याएका छन्। यो किसानले पाउने मूल्य हो।

एक महिनाको अवधिमा अण्डाको खुद्रा मूल्य ७ देखि १० प्रतिशत बढेको छ। कुखुरालाई खुवाउने दानाको मूल्य बढ्नु र कुखुरा पालन गर्ने किसान पलायन हुँदा अण्डा उत्पादन घटेको केसी बताउँछन्। ‘अण्डाको उत्पादन घटेको छ,’ उनले भने, ‘त्यो भएर हामीले पनि मूल्य बढाएका हौं।’

उनका अनुसार दानाको मूल्य केही घटे पनि त्यसको लाभ किसानले पाउन सकेका छैनन्, महँगै मूल्यमा दाना किन्नुपर्ने अवस्था छ। सरकारले किसानलाई उचित संरक्षण नगर्दा दुई/तीन वर्षको बीचमा कुखुरा पाल्ने किसान ३० देखि ३५ प्रतिशतले पलयान भइसकेको उनको भनाइ छ। ‘कहिले किसानले कुखुराको मूल्य पाउँदैनन् कहिले सबै कुखुरा मर्छन्,’ उनले भने, ‘किसानलाई संरक्षण नगर्दा उनीहरू कुखुरा पालनमा निरूत्साहित भएका छन्।’

बढेको मूल्यमा पनि उपभोक्ताले प्रतिक्यारेट अण्डा चार सय ७० देखि ८० रूपैयाँभन्दा बढी तिुर्न नपर्ने उनको भनाइ छ। बच्चादेखि बिरामीले उपभोग गर्ने दूध, अण्डा तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा व्यवसायीले अत्यधिक नाफा राख्न नहुने उनले बताए। ‘यस्ता खाद्य वस्तुमा ऐनले तोकेको नाफा राख्नु पर्छ भन्ने छैन,’ उनले भने, ‘सरकारले हस्तक्षेप गर्नुपर्छ।’

अण्डाको मूल्य बढ्नुको कारणबारे अध्ययन भइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले जानकारी दिए। ‘हाम्रो अध्ययनले उत्पादन कम भएकै कारण मूल्य बढेको देखाएको छ,’ विभागका प्रवक्ता भट्टराईले भने, ‘बीचमा केही चलखेल छ कि हामीले अध्ययन गरिरहेका छौं।’बिचौलियाका कारण मूल्य बढेको देखिए कारबाही हुने उनी बताउँछन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban