चुरोटकाे लत छोड्न चाहनुहुन्छ ? वीर अस्पताल जानुहोस्, चुईगम खानुहोस्

रातोघर

 २०८० श्रावण १६, मंगलबार  मा प्रकाशित
३०६ पाठक संख्या


एक महिनाअगाडि विश्व स्वास्थ्य संगठनले वीर अस्पताललाई धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत छोड्न चाहनेहरूका लागि निकोटिन चुईगम उपलब्ध गराएको थियो ।

संगठनले वीरलाई उपलब्ध गराएको २५ हजार ट्याब्लेट निकोटिनयुक्त चुईगम एक महिना नपुग्दै सकिएको वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए । उनले भने, ‘चुरोट छोड्न चाहने व्यक्तिले एक दिनमा कतिवटा चुरोट सेवन गर्छ । त्यही अनुसारको मात्रा मिलाएर दिनुपर्ने हुन्छ । त्यही अनुसार एक जनाले एक दिनमा १२ वटासम्म ट्याब्लेट प्रयोग गर्नुपर्ने हुन्छ ।’

चुरोटमा निकोटिनमात्र नभएर थुप्रै रसायन हुने गर्छन्, जसले क्यान्सर बनाउन मुख्य भूमिका खेल्ने गर्छन् । निकोटिनले लत बसाउने काम गरे पनि यसमा क्यान्सर बनाउने तत्व नभएको विज्ञहरूको भनाइ छ ।

वीरले चुईगम वितरण सुरु गरेपछि अहिले यसको माग बढ्दो रहेको डा. पौडेल बताउँछन् । उनी भन्छन्, ‘अस्पतालले क्यान्सरका लागि छुट्याइएको रुपैयाँबाट किन्ने योजना बनाए पनि अनुमति नपाएका कारण हामीले ल्याउन सकेनौँ ।’

अस्पतालमा चुईगमको माग बढ्दै गर्दा त्यसको खरिदमा भने समस्या देखिएको छ । औषधि व्यवस्था विभागले उक्त चुईगम खरिदका लागि अनुमति नदिएका कारण खरिदमा समस्या भइरहेको छ ।

उसो त, छिमेकी मुलुक भारतले लामो समयदेखि निकोटिनयुक्त चुईगम बिक्री तथा वितरणका लागि अनुमति दिँदै आइरहेको छ । भारतमा उक्त चुईगम व्यक्ति स्वयम्‌ले मेडिकलमा खरिद गरेर प्रयोग गर्न सक्ने प्रावधान छ ।

तर, नेपालमा भने अहिलेसम्म यसले कानुनी रूपमा बिक्री तथा वितरणको अनुमति पाउन सकेको छैन । सरकारले धुम्रपान छोडाउनका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ । त्यस्तै धुम्रपान छुटाउनका लागि औषधिहरू उपलब्ध छन् । तर, यो बारेमा धेरैलाई थाहा छैन । औषधिको उपलब्धता कसरी हुन्छ र कुन माध्यमबाट सेवा पाइन्छ भन्नेबारे अलमलमा छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban