सन्दीपको मुद्दामा फेरि पीडितको जन्ममितिको कागज मगाउने आदेश

रातोघर

 २०८० भाद्र २१, बिहिबार  मा प्रकाशित
३३७ पाठक संख्या


काठमाडौँ ।

क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले फेरि पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको छ। न्यायाधीश शकुन्तला कार्कीको इजलासले उक्त आदेश दिएको हो।

आज सरकारी वकिल सुरवीर परियारले बहस गरेका थिए। यसका साथै पीडितका पक्षबाट पनि मोहना अन्सारीले बहस गरेका थिए। आजको समय सकिएपछि भोलि फेरि सुनुवाइ गर्ने न्यायाधीश कार्कीले भनिन्। अन्तिम समयमा सन्दीपका वकिल सरोज घिमिरेले बसाइँ सरी गएको डकुमेन्टमा पीडितको  यकिन जन्ममिति हुनसक्ने त्यो कागजात मगाउन माग गरे।

त्यसपछि न्यायाधीश कार्कीको इजलासले फेरि पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको हो।राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो।वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।

विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए। क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो।

सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ राखेर सुनुवाइ थालेको सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश केही उल्ट्याएर अर्को आदेश दियो।न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले राष्ट्रिय खेलाडी भएको भन्दै सन्दीपलाई विदेश जाने अनुमति दियो।सर्वोच्चले मुद्दालाई चाँडोभन्दा चाँडो किनारा लगाउनसमेत भनेको थियो।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban