

काठमाडौं ।
१९८३ वैशाख १२ गतेका दिन गोरखापत्रमा छापिएको एक महिलाले चर्खामा धागो कातिरहेको फोटो नै नेपालको पत्रिकामा छापिएको जनसाधारणको पहिलो तस्वीर हो भन्ने मान्यता छ । यसरी सुरु भएको तस्वीर प्रयोग पछि आएर गोरखापत्रमा त्यसबेला श्री ५ को सरकारअन्तर्गतको सूचना विभागबाट प्राप्त तस्वीरहरूमध्ये राजपरिवारहरू र केही मन्त्रीहरूको फोटो छाप्ने काम भयो ।
करिब २०१५/१६ सालदेखि क्रमशः गोरखापत्रले फोटो छाप्दै आए पनि २०३० सालमा आफैँले फोटो पत्रकारको व्यवस्था गर्याे । ‘नेपालमा फोटोग्राफीः हिजो र आज’ पुस्तकको लेखक म पनि सोही संस्थाको पहिलो फोटो पत्रकारका रूपमा करिब २७/२८ वर्षसम्म कार्यरत रहेँ ।
गोरखापत्रले प्राय:जसो राजारानी तथा राजपरिवारका गतिविधिको फोटो अखबारमा निरन्तर छाप्थ्यो । गोरखापत्रमा फोटो प्राप्त गर्ने काम श्री ५ को सरकार, सूचना विभागबाट प्राप्त हुन्थ्यो । त्यस संस्थामा मङ्गलमोहन श्रेष्ठ तथा रवीन्द्र मास्के दुई फोटोग्राफरहरू कार्यरत थिए । श्री ५ को सरकार तथा राजारानीलगायत राजपरिवारको तस्वीर खिच्ने काम सूचना विभागले गर्थ्यो ।
राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाका लागि फोटो तथा ब्लक पनि सूचना विभागबाटै उपलब्ध गराइन्थ्यो । नेपालका पत्रपत्रिकाको इतिहासमा गोरखापत्र नै पहिलो अखबार हो, जसले आजसम्म निरन्तर सेवा प्रदान गर्दै आएको छ । क्रमशः पछि गएर कान्तिपुर पत्रिका देशको एक नम्बरको दैनिक अखबार भएर निस्कियो । सो पत्रिकाको फोटोग्राफीलाई पूर्ण रूपले डिजिटल गर्ने अवसर मैले नै पाएको थिएँ ।
२०४० सालतिरबाट प्रचलनमा आएको नेगेटिभ फोटो ट्रान्समिटर । यस मेसिनबाट टेलिफोन लाइन प्रयोग गरी फोटो पठाउने काम हुन्थ्यो गोरखापत्रका फोटोग्राफरका रूपमा गोपाल चित्रकारपछि बिन्दुराजसिंह सुवाल उक्त संस्थामा प्रवेश गरे । केही वर्षपछि क्रमशः रामेश्वर कायस्थ, भरत श्रेष्ठ, भीम गुरुङ, राजेन्द्र चित्रकार, नातिकाजी महर्जन र रमेश क्षेत्रीले गोरखापत्रमा बीसौँ वर्ष सेवा गरे । नयाँ पुस्तामा केशव खनाल, शेखर चौलागाईं, सुजन गुरुङ, विकास द्वारे, सागर बस्नेत र कविता थापा उक्त संस्थामा प्रेस फोटोग्राफरका रूपमा संलग्न रहे ।
समाचारको महत्त्व हेरी प्रधानमन्त्री तथा मन्त्रीहरूको पनि फोटो छाप्ने काम हुन्थ्यो । समय बित्दै गएपछि त्यसबेला नेपाल दूरसञ्चार संस्थानले रेडियो फोटोको सेवा पनि उपलब्ध गरायो । एउटा ८x१० इन्चको श्यामश्वेत तस्वीर विदेशमा रेडियो फोटोमार्फत पठाउन करिब १,००० देखि १,२०० रुपैयाँसम्म लाग्थ्यो । तस्वीरलाई स्क्यान गरेर ध्वनिमा उक्त चित्रहरूलाई परिणत गरेर टेलिफोनमार्फत विश्वको अर्को कुनामा पुऱ्याउँदा करिब ३/४ मिनेट लाग्थ्यो । विशेष गरी प्रेससँग सम्बन्धित तस्वीरहरूका हकमा यसरी पठाउने सुविधा आएको थियो ।२०५० सालतिरबाट प्रयोगमा रहेको व्यक्तिगत इन्टरनेट लिङ्क गर्ने मेसिन । यो प्रविधिबाट फोटो विश्वव्यापी गर्ने काम हुन्थ्यो ।
प्राय:जसो दूरसञ्चार संस्थानले तस्वीरहरू हङकङको केबल एण्ड वायरलेस कम्पनीमा पठाउँथ्यो र पछि त्यस संस्थाले विभिन्न समाचार संस्थाहरूलाई उपलब्ध गराउँथ्यो । पछि फोटोपत्रकारहरूले आफैँ घरमा स्याटेलाइट अपलिङ गर्ने सुविधा प्राप्त गर्न थाले र घरघरबाट तस्वीरहरू विश्वव्यापी हुन थाले । २०४६ सालको जनआन्दोलनसम्म पनि यही प्रविधिबाट फोटोहरू विश्वव्यापी हुन्थे भने इन्टरनेटको सुविधा प्राप्त हुन थालेपछि महँगो प्रविधिको अन्त्य भएर हामी डिजिटल युगमा प्रवेश गरेका हौँ ।





Write your Comment