विशेषज्ञ पत्रकारिताका लागि विधागत अभ्यास

रातोघर

 २०८० आश्विन ८, सोमबार  मा प्रकाशित
४४३ पाठक संख्या


काठमाडौं । 

मान्छेको रुचि र छनोटमा एकपता छैन, हुँदैन। विकासको आरम्भिक युगदेखि अहिलेको सूचना प्रविधिको युगसम्ममा विविधता झन बढ्दो छ। बढ्दो विविधताका क्षेत्रमा जीवनका अन्य क्षेत्रमा जस्तै सूचना प्रवाहका क्षेत्रमा पनि रुचि परिवर्तन भएका छन्। सूचना प्रवाहका माध्यम त फेरिएका छन् नै, तिनमा परिष्कार र सूचनाको विशिष्टता पनि तिखारिँदो छ।

फेरिँदो र थपिँदो रुचिको क्षेत्रका लागि पत्रकारिताको सेवा पनि तिखारिँदो छ, माझिँदो छ। विस्तारित आयतन र लम्बाइका हरेक विन्दुमा नवीन सूचना र जानकारीका नवीन आयाम भेटिँदा छन्। सूचनाको विस्तारलाई समेट्न  पत्रकारिता क्षेत्र पनि विस्तारित हुन अग्रसर छ, हरेक विन्दुका खबर खुट्याउँदै गहिराइमा पुगेर समाचार टिप्न समाचारकर्मीहरू तयार छन् र सूचनाको छनोट गर्दै परिस्कृतलाई उपभोग गर्ने वा अन्यलाई तिरस्कार गर्ने अधिकारका साथ पारखीहरू सर्वत्र तैनाथ छन्।

छापा, रेडियो, टेलिभिजन हुन् वा इन्टर माध्यम नै किन नहोउन्, सबैका लागि सूचनाका उपभोक्ताको रूचि प्राथमिक पक्ष हो। यस लेखमा मानवीय रुचिलाई प्राविधिक विकासले परिस्कार र विस्तार गर्दै जाँदा पत्रकारितामा पनि विशिष्टीकृत विधाहरूको विकास भइरहेको सन्दर्भ र त्यसको लाभको चर्चा गरिन्छ।इतिहासलाई नियाल्दा सूचना प्रापकका रुचिका जगमै सूचना प्रदायकहरू टिकेका देखिन्छन्। अहिलेसम्मको खोजअनुसन्धानका आधारमा पत्रकारीय पहिलो उत्पादन प्राचीन रोमको इशा पूर्व ५९ को एक्टा डिउर्ना पाठकको रुचिको विषय थियो।

चीनमा ताङ्वंशीय शासन (सन् ६१८-९०७) मा शुरु भई चिङ्वंशीय शासनको अन्त्यताका (सन् १९१२) सम्म सरकारी अधिकारीहरूलाई बाँडिने केङ्ग-पौ वा केङ्ग-त्चाउ अर्थात पेकिङ् गजेट नामको सरकारी बुलेटिनका हकमा पनि यही कुरा लागू हुन्छ। सूचना प्रदायक र प्रापकका रुचिको रुचि नमिल्ने हो भने कुनै पनि माध्यम टिक्न सम्भव हुन्न।

पाठकको रुचि नै नहुँदो हो त सन् १६०९ तिर युरोपेली राष्ट्रहरू बेल्जियम र जर्मनीतिर नियमित पत्रपत्रिका देखापर्ने थिएनन्। सन् १६२२ मा दुनियाकै पहिलो अंग्रेजी अखबार विक्ली न्यूज र सन् १७०२ मा पहिलो दैनिक पत्रिका दि डेली कुराण्ट पनि पाठकको रूचिबिना अस्तित्वमै आउने थिएनन्।

मान्छेको अनन्त जिज्ञासाले प्रविधिको विकास गराएको हो भने त्यसमै टेकेर पत्रकारिताको बिस्तार पनि हुँदै गएको हो। त्यही प्रक्रियाबाट सन् १९०९ मा अमेरिकी इन्जिनयर चार्ल्स हेर्रोडलाई अमेरिकाको क्यालिफोर्नियामा संसारकै पहिलो रेडियो स्टेशन केक्यूडब्ल्यू खेल्ने अग्रसरता पलाएको हो। त्यो अग्रसरतामा पत्रकारिताको स्वाद थपिँदै गएकोले नै उनलाई आफ्नो इन्जिनियरिङ कलेजबाट सञ्चालित संसारकै पहिलो त्यो रेडियो स्टेशनबाट फुटकर समाचार प्रसारण गर्ने कुतकुती लागेको हो।

त्यति मात्र होइन, पत्रकारीय सामग्रीप्रतिको मोहकै नतिजास्वरूप कोलम्बिया ब्रोडकाष्टिङ् सिष्टम (सीबीएस इन्कर्पोरेटेड) ले किनेर केसीबीएस भएको २८ वर्षपछि सो संस्थाको पहिचान नै परिवर्तन पनि समाचारीय सामग्रीप्रतिको मोहकै नतिजा हो। अर्थात्, त्यतिन्जेलका सम्पूर्ण सांगीतिक कार्यक्रमहरू बन्द गरेर सन् १९६८ पछि हालसम्म सो रेडियोलाई समाचार–रेडियो बनाउने निर्णय त्यसका सञ्चालकहरूको समाचार–मोहकै नतिजा हो।

प्रविधिहरूको विकाससँगै माध्यमहरू थपिंदा समाचारीय सामग्रीको रूप फेरिँदो छ, तर सार उही छ। त्यस्तो सामग्रीको सान्दर्भिकता मासिंदो छैन, प्रस्तुतिको पारा मात्र फेरिंदो छ। टेलिभिजन प्रविधिले यान्त्रिक प्रविधिको क्रम भंग गरेर विद्युतीय विकास-यात्रा तय गर्नुका पछाडि पनि जिज्ञासु मानव मस्तिष्कको सृजनशीलताले काम गरेकै हो।

त्यस्तो आविष्कारलाई स्वीकार र अंगीकार गर्ने प्रविधिप्रेमी मानव चाहना नहुँदो हो त वैज्ञानिक आविष्कार फगत कागजको फूल हुने थियो।मानवीय चाहनालाई च्याप्प समात्न सक्ने मगजले नै सन् १९२८ मा पहिलो टेलिभिजन स्टेशनको रूपमा अमेरिकामा डब्ल्यू ३ एक्सकेको स्थापना गरेको हो। नयाँनयाँ प्राविधिक विकासको फड्को मार्दै यो माध्यम समाचारीय दृष्टिले प्रभावकारी हुने ठम्याइले नै सन् १९४७ मा संसारमै पहिलोपल्ट टेलिभिजनको पर्दामा समाचार प्रसारण सम्भव भएको हो। र, द वाल्टर कम्प्टन न्यूजमार्फत इतिहास रच्न अमेरिकाको डुमोँ टेलिभिजन नेटवर्क त्यो इतिहास रच्न सफल भएको हो।

सन् १९९९ मा भारतीय जनसञ्चार संस्थान (आईआईएमसी) का तत्कालीन अध्यक्ष बलवीर के. पुञ्जले पत्रपत्रिका, रेडियो र टेलिभिजन जस्ता सबै माध्यमले “एकार्काको सहअस्तित्वलाई सहर्ष स्वीकारिरहेको” महसुस गरेका थिए।चन्द्रकान्त पी. सिंहको टेलिभिजन पत्रकारितासम्बन्धी हातेपुस्तक ‘बिफोर दि हेडलाइन्स्’को प्राक्कथनमा उनले त्यस्तो मूल्यांकन गरेको अहिले २५ वर्ष भएको छ।

यस काल खण्डमा के छापा, के रेडियो र के टेलिभिजन सबै माध्यमको अस्तित्वलाई इन्टरनेटले आफूमा समाहित गरिसकेको छ। यो नयाँ माध्यममा नबेरिने कुनै पनि माध्यमको अस्तित्वको कल्पना गर्नु पनि असान्दर्भिक भइसकेको छ।सन् १९७० को दशकमा इन्टरनेटको जन्म भएपछि अरू क्षेत्रमा जस्तै पत्रकारितामा पनि सर्वाधिक परिवर्तन देखियो, प्राविधिक विकासको नयाँ राजमार्ग तयार भयो। त्यही राजमार्गमा खडा भएर सन् १९७४ मा दुनियाँको पहिलो अनलाइन अखबारका रूपमा (प्लाटो) न्यूज रिपोर्ट देखापयो।

त्यसपछि पत्रकारिताको दुनियाँ विभिन्न कोणबाट पुनर्परिभाषित हुँदै छ। सन् १९८० को मध्यतिर कोलम्बस डिस्प्याच अनलाइनमा जाने पहिलो पत्रिका बने यता सबै माध्यमहरू एकपछि अर्को गर्दै यही इण्टरनेट माध्यममा शरणागत भएका छन्। यही उपायबाट मात्र अस्तित्व जीवित रहने र विकासको यात्रामा अघि बढ्न सक्ने ठहरसहित के छापा, के विद्युतीय(सबै माध्यम नयाँ सूचना र सञ्चार प्रविधिको जालोमा जोडिइसकेका छन्।

पत्रकारिताको शताब्दी लामो अनुभव र प्राविधिक यात्रालाई सामान्यीकरणबाट विशिष्टीकरणतर्फ मोड्न सबैले सञ्चारको नयाँ जालोमा जोडिने उपाय रोजेका छन्। अभ्यास र अनुभवका आधारमा हेर्दा अनेक विधामा पत्रकार र मिडियाको विकास भइरहेको छ।नेपालमै पनि भारतबाट शुरु भएको पहिलो नेपाली पत्रिका गोरखा भारत जीवन, पहिलो नेपाली पत्रिका सुधासागर, पहिलो समाचारपत्र गोरखापत्र, पहिलो रेडियो रेडियो नेपाल, पहिलो टेलिभिजन नेपाल टेलिभिजन र पहिलो नेपाली अनलाइन दि नेपाल डाइजेष्ट हुँदै अहिलेसम्मको यात्रा पत्रकारिताको विशिष्टीकरणतर्फ अग्रसर छ।

व्यावसायिक अभ्यासका क्रममा नेपाली पत्रकारिता जगतले तय गरेको विशिष्टीकरणको यात्राले नै बीट रिपोर्टिङ वा विधागत पत्रकारिताको विकास गराएको हो। ‘नेपालमा प्रेस काउन्सिल: समकालीन अनुसन्धानात्मक इतिहास’ पुस्तकमा मैले नै करीब १२ वर्षअघि ‘नेपालमा मिडिया व्यावसायिक अभ्यास र संस्थागत विकासको क्रममा अघि बढिरहेको छ’ भनेर गरेको मूल्यांकन अहिले पनि सामयिक नै छ।व्यावसायिक अभ्यासका लागि अनुभवी र अग्रज पत्रकारहरूले विधागत पत्रकारिताको अध्ययन, अवलोकन, अनुभव र अभ्यासका आधारमा लेखेका वा बोलेका सामग्री अरूका लागि पथप्रदर्शक हुन्छन्।

पत्रकारिताका पाइला टेक्दै गरेकादेखि विभिन्न विधामा सक्रिय एवं विधागत रूपमा केन्द्रित भएर काम गर्न नपाएका पत्रकारहरूका लागि अनुभवी र अग्रजका पथप्रदर्शन अमूल्य हुन्छन्।उनीहरूका रुचिअनुसारका विधामा केन्द्रित गर्न अग्रजका ज्ञानले केही बाटो देखाउँछन् भने विधागत पत्रकारहरूका ज्ञान तथा सीप आर्जनका लागि त्यस्ता सामग्री महत्वपूर्ण हुन्छन्।

ज्ञान र अभ्यासलाई सहजीकरण गर्ने त्यस्ता सामग्रीको व्यवस्थित उपलब्धताको अभाव भने समाजका अन्य पेशा जस्तै पत्रकारिताका हकमा पनि लागू हुन्छ।विशिष्टिीकृत पत्रकारिताका लागि गरिने विधागत पत्रकारिताका विधा कति हुन्छन् भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। तर, अनन्त मानवीय जिज्ञासा शान्त पार्ने सूचनाको सेवाको यो क्षेत्रमा पत्रकारिताको विधा-संख्या किटान भएको छैन र त्यसो गर्न सम्भव र व्यावहारिक पनि छैन।

संख्या जतिसुकै भए पनि समष्टीमा विधागत पत्रकारिताका अनेक आयामका पछाडि सूचनाका उपभोक्ताले हासिल गर्ने परिष्कृत सूचनाको लाभ स्पष्ट छ, पत्रकारिता जगतले हासिल गर्ने लाभका पक्षहरू पनि स्पष्ट छन्। विशेषज्ञ पत्रकार हुनुको पत्रकारीय मूल्य उच्च छ। सर्वप्रमुख लाभ त पत्रकारले आफ्नो रुचिको क्षेत्रमा खुलेर काम गर्न पाउनुलाई नै मान्न सकिन्छ।

पत्रकारिता आफैँमा सूचना र अभिव्यक्तिको स्वतन्त्रताको सेवक पेशा हो। त्यसैले विधागत पत्रकारले आफ्नो रुचिका विषयमा आफूलाई समेत अभिव्यक्त गर्न पाउने नै भयो।यस आधारमा हेर्दा विधागत पत्रकारिताले भन्नेबित्तिकै सम्बन्धित विषयमा पत्रकारको पनि विशेषज्ञता आवश्यक पर्छ। त्यसो नभई विधागत पत्रकारिता सम्भव छैन। विशेषज्ञताका साथ पत्रकारिता गर्दा पत्रकारको निपूर्णता र निखार बढ्दै जान्छ। त्यसले पत्रकारिताभित्र मात्र नभएर बाहिर पनि अवसरको ढोका फराकिलो पार्न सक्छ।

नेपालकै सन्दर्भमा पनि यस्ता अनेक उदाहरण पाइन्छन्। चलचित्रप्रति रुचि भएको पत्रकार चलचित्र समीक्षक मात्रै होइन, निर्देशक नै बन्न सक्छन्, बनिसकेका छन्। खेलकूदका समाचारमा अभिरुचि भएकै आधारमा कोही व्यक्ति पत्रकार बनेका उदाहरण नयाँ होइनन् भने खेल पत्रकारहरू खेल विशेषका कमेण्टेटर भएका छन्।आर्थिक पत्रकारिताका विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका पत्रकार पत्रकारितामा रहे पनि नरहे पनि प्रभावशाली छन्। राजनीति-पत्रकारहरू राजनीतिक विश्लेषक मात्र नभएर उच्चपदस्थ  राजनीतिज्ञ नै भएको जस्ता अनेक उदाहरण हाम्रा आँखाअगाडि नै छन्।

नियमित पत्रकारीय अभ्यासका कोणबाट हेर्दा बीट रिपोर्टिङ्का निर्विवाद अनेक लाभ छन्। स्रोतसाधनको बचत पहिलो आभ हो। आफ्नो बीटमा अनुभवी बीट रिपोर्टरहरूलाई चाहिनेसूचना कहाँ, कसरी र कोसँगबाट पाउन सकिन्छ भन्ने स्पष्ट जानकारी हुन्छ। त्यसैले विधागत दक्षता नभएका पत्रकारले भन्दा उनीहरूले सहज, सुलभ, चुस्त, चाँडो र पक्का सूचना ल्याउन सक्छन्। समाचार-स्रोतहरूसँग दीर्घकालीन र विश्वासिलो सम्बन्ध हुने भएकाले बीट रिपोर्टरहरूले उच्च समाचार-मूल्यका जानकारी ल्याउन सक्छन्।

हुन त लामो समयसम्म निरन्त एउटै विषयमा काम गर्दा झिँजो र निरस लाग्ने पनि हुन्छ। त्यो अवस्थामा ताजगी अनुभव गर्न रिपोर्टरले नयाँ विधामा हात हाल्ने र सम्पादकले पनि बीट परिवर्तन गरिदिने दृष्टान्त पनि पाइन्छन्। एक तहमा अनुभव र परिपक्वता हासिल गरिसकेका पत्रकारका लागि विधा परिवर्तनले पनि नयाँ अवसर नै थप्छ। त्यसो गर्दा रिपोर्टरले पुरानो पत्रकारीय अनुभव र नयाँ विधागत ज्ञानका आधारमा नयाँ सूचना पाएर नयाँ स्वादसहित प्रस्तुत गर्ने मौका पाउँछ। त्यसो गरेर उनीहरूले नयाँ पहिचान बनाउने सम्भावना पनि उत्तिकै हुन्छ। विधा परिवर्तनका माध्यमबाट पुनर्ताजगीको अभ्यास पनि प्रचलित नै छ।

विधागत समाचार सामग्री प्रवाहका कारणले नै पत्रपत्रिका तथा कतिपय वेबसाइट स्थानीय मिडियाका समाचारभन्दा फरक र गहन देखिन सक्छन्। कुशल विशेषज्ञतायुक्त पत्रकारका गम्भीर सामग्रीका आधारमा नै प्रभावकारी प्रसारण माध्यमहरूसँग पनि पत्रपत्रिकाले प्रतिस्पर्धा गरिरहेका हुन्छन्।

कुनै विषयमा विशेषज्ञता हासिल गरेर कर्मक्षेत्रमा डटेको पत्रकारले सबै प्रकारका चुनौतीलाई छिचोल्न सक्छ, त्यस्तो पत्रकारलाई पत्रकारिताको दुनियामा अगाडि बढ्न र सफलता हासिल गर्नबाट कसैले रोक्न सक्दैन। त्यसका लागि पूर्वशर्त भने अवश्य छ। त्यो हो-पत्रकारिताप्रतिको निष्ठा र त्यसअनुकूलको आचरण कायम राख्दै पेशागत योग्यता, दक्षता, इमान्दारिता र लगनशीलता।

पत्रकारिताको विस्तारित आयतन, पत्रकारको अग्रसरता र उपभोक्ताको उत्सुकता नै पत्रकारिताको संभावनाको भविष्यका निर्धारक हुन्। यी तीन पक्ष खुम्चिए भने मात्र यो क्षेत्रको जोखिम जाग्छ, अन्यथा अवसरकै चहक चम्किन्छ। विश्वको सन्दर्भ यही हो, नेपालको आवश्यकता पनि त्यही हो। यसका लागि सञ्चारजगतले विधागत पत्रकारिताको अभ्यासलाई बढावा दिनु त आवश्यक छ नै, विज्ञजनले पनि सान्दर्भिक परिचर्चा र विमर्शहरूमा सक्रिय सहभागिता जनाउनु जरुरी छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban