एक नेपालीले वर्षमा कति किलो मासु खान्छन् ?

रातोघर

 २०८० कार्तिक २, बिहिबार  मा प्रकाशित
३९१ पाठक संख्या


एक व्यक्तिले वर्षमा सरदर १४ किलोसम्म माछा–मासु खाँदा स्वास्थ्यका दृष्टिले उपयुक्त हुने अन्तर्राष्ट्रिय खाद्य तथा कृषि संगठन (एफएओ)को मापदण्ड छ । तर नेपालीले वार्षिक रूपमा औसतभन्दा सात किलो बढी अर्थात् २१ किलो माछा–मासु खाने गरेको पशु विभाग बताउँछ ।

पशु विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार, माछा–मासुमा अत्यधिक पौष्टिक तत्त्व पाइने भएकाले नेपालीले बढी खाने गरेको देखिन्छ । ‘मासु आपूर्तिको उपलब्धताका आधारमा हामीकहाँ सबैभन्दा बढी कुखुराको मासु खाएको पाइन्छ,’ उनले भने, ‘त्यसपछि राँगा, भैँसी, खसी–बोकाको मासु पर्छ ।’

शरीरलाई आवश्यकभन्दा बढी मासु खाएमा पाचन प्रणालीमा गडबड, झाडापखाला, बान्ता लगायत  समस्या हुने चिकित्सक बताउँछन् । ‘एक व्यक्तिले एक हप्तामा पाँच सय ग्राम अर्थात् आधा किलो मासु खान सक्छ,’ फिजिसियन डा. रोशनकुमार झा भन्छन्, ‘एक दिनमा ७० ग्रामभन्दा बढी मासु खानु हुँदैन, केही बेसी भइहाले अर्को दिन सागसब्जी खानुपर्छ ।’

पहिलेको तुलनामा कतिपय ग्रामीण भेगमा समेत माछा–मासुको उपलब्धता बढेसँगै मांसाहारी मानिसको स्वास्थ्यमा सुधार आएको विभागका सूचना अधिकारी डा. ढकाल बताउँछन् । ‘माछा र मासुको उपभोग दर बढेर मातृ मृत्युदर र शिशु मृत्युदर घटेको छ,’ डा. ढकाल भन्छन्, ‘अहिलेका बच्चा इन्टेलिजेन्ट र शारीरिक रूपमा स्वस्थ छन् ।’ ढकालका अनुसार ग्रामीण क्षेत्रका महिलाले मासुका लागि पशुचौपाया पालन गरी आय आर्जनमा समेत वृद्धि गरेका छन् ।

राष्ट्रिय चरन तथा घाँसेबाली अनुसन्धान कार्यक्रमका संयोजक तथा पशु आहारविज्ञ डा. तुलसीप्रसाद पौडेलका अनुसार, देश मासुमा आत्मनिर्भरतर्फ उन्मुख रहेकाले पनि मासुको उपभोग दर बढेको आकलन गर्न सकिन्छ । ‘मासुको उपभोग खाद्य पोषण सुरक्षासँग जोडिएको विषय हो,’ उनी भन्छन्, ‘यसले भावी पुस्ताको पोषण सुरक्षामा सुधार हुन्छ ।’

सहर–बजारमा उपभोग बढी 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, देशमा वार्षिक ६ लाख मेट्रिक टनभन्दा बढी माछा र मासु उत्पादन हुन्छ । यही उत्पादनलाई जनसंख्याका आधारमा भाग लगाउँदा एक व्यक्तिको भागमा सरदर २१ किलो मासु पर्ने पशु आहारविज्ञ डा. पौडेलको भनाइ छ । उसो त पशु वध गरी मासु खानु न्यायोचित होइन भन्नेहरू पनि छन् । यहाँ सरदरमा वार्षिक २१ किलो भनिए पनि मासु नखाने र यो औसतभन्दा बढी मासु खाने पनि छन् ।

‘ग्रामीण भेगको तुलनामा मासुको उपभोग सहरबजारमा बढी हुने गर्छ,’ डा. पौडैल भन्छन्, ‘मासुको उपभोगमा सबैको समान पहुँचका लागि बजारीकरण र मासुको परिकारको विविधिकरणमा जोड दिइनुपर्छ ।’

पशु विभागका अनुसार, दसैँमा मात्रै करिब ८५ हजार मेट्रिक टन मासु खपत हुने गर्छ । यसमध्ये पनि काठमाडौं उपत्यकामा मात्रै ५० देखि ५१ हजार मेट्रिक टन माछा–मासु खपत हुने विभागका सूचना अधिकारी डा. ढकाल बताउँछन् ।

ग्रामीण क्षेत्रमा मासुको पहुँच पु¥याउन स्थानीय तहबाटै उत्पादनमा जोड दिनुपर्ने पशु आहारविज्ञ डा. पौडेल सुझाउँछन् । उनका अनुसार, आर्थिक स्थिति कमजोर र मासुको पहुँच कम भएका नागरिकको पोषण सुरक्षाका लागि  कुखुराको मासु उत्तम हुन्छ, कारण अन्यको तुलनामा कुखुराको मासु सस्तो छ । ‘बालबालिका र गर्भवती महिलालाई प्राथमिकतामा राखेर स्थानीय तहले कुखुरा उत्पादनका विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्छ,’ डा. पौडेल भन्छन्, ‘एक किलो च्याङ्ग्राको मासु आउने पैसाले ६ किलो कुखुराको मासु आउँछ । कुखुराको मासु खाँदा पनि पोषण सुरक्षामा टेवा पुग्छ ।’

मासुको उत्पादन घट्दो, माछाको बढ्दो 

मन्त्रालयका अनुसार मुलुकमा राँगा, खासी बोका, बङ्गुर लगायतको मासु आर्थिक वर्ष २०७६/७७ मा ५ लाख ५२ हजार मेट्रिक टन उत्पादन भएको छ । यस्तै, वर्ष २०७७/०७८ मा ५ लाख २० हजार मेट्रिक टन मास र ०७८/७९ मा  ५ लाख १२ हजार मेट्रिक टन उत्पादन भएको उल्लेख छ ।

मासुको उत्पादनमा बर्सेनि केही कमी देखिए पनि माछाको उत्पादन भने बढेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७६/७७ मा ९७ हजार मेट्रिक टन माछा उत्पादन भएको छ । वर्ष २०७७/७८ मा १ लाख ४ हजार मेट्रिक टन र ०७८/७९ मा  १ लाख ८ हजार मेट्रिक टन माछा उत्पादन भएको तथ्याङ्कमा उल्लेख छ ।

m

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban