

हेटौँडा।
हेटौँडा सिमेन्ट उद्योगले आर्थिक सङ्कटको कारण समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन आजदेखि बन्द गरेको छ ।उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बडादसैँको बिदा हुनुअघिसम्म सो उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा तीन लाख बोरा सिमेन्ट उत्पादन भएको जानकारी दिए ।
उनले आर्थिक सङ्कटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसकिएको हुँदा सिमेन्ट उत्पादन बन्द गरिएको बताए । आर्थिक सङ्कटबारे सङ्घीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योग पुनः सञ्चालनमा ल्याइने उनको भनाइ छ ।
कूल तीन लाख बोरा सिमेन्ट काठमाडौंलगायतका विभिन्न शहरमा बिक्री वितरण तयारी गरिएको र यसको आम्दानी कोइला खरिद लगाइने उद्योगले जनाएको छ ।
चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै शहरमा बिक्री वितरण गर्न समस्या भएको जनाइएको छ । कोइला खरिद गरी ल्याइएपछि मात्रै उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने भएको उनले बताए ।२०३३ मा लामसुरेमा स्थापित सो उद्योगले २०४३ मङ्सिर २६ बाट व्यावसायिक रूपमा उत्पादन सुरुआत गरेको थियो । सो उद्योगमा करिब तीन सय ९० कर्मचारी कार्यरत छन् ।





Write your Comment