

काठमाडौँ ।
गत वर्षको माघ महिना यता पश्चिम नेपालका तीन जिल्लामा केन्द्रबिन्दु भएर ठुला भूकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बाजुरा, बझाङ र जाजरकोट केन्द्रबिन्दु भएर ५ वा सोभन्दा माथिका भूकम्पहरू गएका हुन्
गत २०७९ माघ १० गते बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो भने २०८० वैशाख १४ गते पुनः सोही जिल्लामा ५.९ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो ।
त्यसपछि बझाङ केन्द्रबिन्दु भएर लगातार ठुला भूकम्पहरू गए । २०८० असोज १६ गते एकै दिन ६.३ म्याग्निच्युड र ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको चार दिनपछि पुनः ५.३ म्याग्निच्युडको अर्को भूकम्प गयो । यसबिचमा ५ वा सोभन्दा बढीका थप परकम्पहरू गएका थिए ।
कार्तिक ५ गते मध्य नेपालको धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही दिन ५.१ म्याग्निच्युडको अर्को भूकम्प गयो । त्यसपछि यस क्षेत्रमा लगातार परकम्पहरू गएका थिए ।
हिजो शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर अर्को ठुलो भूकम्प गएको छ । हिजोको भूकम्पको तीव्रता ६.४ म्याग्निच्युडको रहेको थियो । ठुलो भूकम्पपछि त्यहाँ पनि लगातार परकम्पहरू गइरहेका छन् ।
पश्चिम नेपालमा लामो समयदेखि भूकम्प नगएका कारण त्यहाँ भूकम्पको ठुलो जोखिम रहेको विज्ञहरूले बताउँदै आएका थिए । पछिल्लो समय धेरै भूकम्पहरू सोही क्षेत्रमा केन्द्रित रहेको देखिन्छ ।
यी ठुला भूकम्पबाहेक पश्चिम नेपालका अन्य जिल्लाहरूमा ४ देखि ५ म्याग्निच्युडबिचका भूकम्पहरू गएको देखिन्छ । दार्चुला, बाग्लुङ, कास्की, हुम्ला, लम्जुङ, रुकुम पूर्व, गोरखा, मुगु, दैलेख र अछाममा स–साना भूकम्पहरू गइरहेको भूकम्प मापन केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।





Write your Comment