भरतपुर महानगरले भूकम्प प्रभावितलाई १ करोड सहयोग गर्ने

रातोघर

 २०८० कार्तिक १९, आईतबार  मा प्रकाशित
४७० पाठक संख्या


चितवन ।

चितवनको भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने  निर्णय गरेको छ । आइतबार बसेको ८७औँ कार्यपालिका बैठकले सो निर्णय गरेको हो ।

भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना तथा पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुर्‍याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड जम्मा गर्ने निर्णय गरेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् ।

उक्त सहयोग रकम जनप्रतिनिधिको एक महिनाको, अधिकृतस्तरका कर्मचारीको पाँच दिनको, सहायक स्तरसम्मका कर्मचारीको तीन दिनको, मावि शिक्षकको तीन दिनको, आधारभूत तहका शिक्षकको दुई दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको उनले बताइन् ।

प्रमुख दाहालका अनुसार भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि सम्पूर्ण भरतपुरवासीलाई आह्वान गरिएको छ । शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

भूकम्पको केन्द्रबिन्दु आसपास रहेका जाजरकोट, रुकुमलगायतका जिल्लाका धेरै कच्ची घर भत्किएका छन् भने मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक संरचनामा क्षति पुगेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban