

जनकपुरधाम( मधेस प्रदेशसभाले आफ्नो दोस्रो कार्यकालमा गति लिन सकेको छैन। प्रदेशसभाको दोस्रो कार्यकाल सुरुभएपछि औषतमा प्रति महिना ४ वटा बैठक मात्र बस्ने गरेको छ तर समामुख, उपसभामुख र सांसदहरुको तलब एवं सेवासुविधामा करोडौँ रुपैयाँ खर्च भएको छ ।
मधेस प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालमा तीनवटा अधिवेशनमा अहिलेसम्म ७९ वटा बैठक मात्र बस्न सकेको छ। प्रदेशसभा सचिवालयका निमित्त सचिव विपिन ठाकुरका अनुसार २०७९ साल पुस १८ गते प्रदेशसभाको पहिलो बैठक बसेकोमा त्यसयता हालसम्म तीनवटा अधिवेशनमा ७९ वटा बैठक बस्दा सदन कुल ११८ घण्टा ६ मिनेट सञ्चालन भएको हो।
तर यस अवधिमा भने उनीहरुको सेवासुविधामा २९ करोडभन्दा बढी रकम खर्च भएको हो । प्रदेशसभा सचिवालयले उपलब्ध गराएको खर्च विवरण अनुसार प्रदेशसभाको दोस्रो कार्यकाल सुरुभएयता आर्थिक वर्ष २०८०र८१ को असार मसान्तसम्ममा २९ करोड ८५ लाख ९६ हजार रुपैयाँ खर्च भएको हो ।
सभामुख र उपसभामुखको सेवासुविधा वापत १ करोड ९५ लाख ९४ हजार र सांसदहरुमा २७ करोड ९० लाख २ हजार रुपैयाँ खर्च भएको हो ।प्रदेशसभा सञ्चालनमा करोडौँ रुपैयाँ खर्चभएपनि आवश्यक कानून भने बनाउन सकेको छैन् । हालसम्म ७ वटा विधेयक पास भएर प्रमाणिकरण भएपनि ४ वटा बजेटसँग सम्बन्धीत थियो ।
बाँकी तीनवटा विधेयकमध्ये एउटा विधेयकमा भने प्रदेश २ को ठाउँमा मधेश प्रदेश राख्न विधेयक ल्याइएको थियो । अर्थात मधेस प्रदेशको दोस्रो कार्यकालमा अहिलेसम्म दुईवटा कानून मात्र निमार्ण हुन सकेको छ ।
मधेस प्रदेशसभाको दोस्रो कार्यकालमा प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र स्थानीय सेवाको गठन सम्बन्धमा र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक प्रदेशसभाबाट पारित भएर प्रदेश प्रमुखबाट प्रमाणिकरण भएर ऐन बनेको हो।





Write your Comment