सशस्त्र प्रहरी बल पर्साद्वारा वर्षाका कारण प्रभावित क्षेत्रमा उद्धार

रातोघर

 २०८१ आश्विन १३, आईतबार  मा प्रकाशित
२३० पाठक संख्या


निरन्तरको वर्षाका कारण पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–११, श्रीपुरस्थित राधेमाई र नयाँ गाउँ क्षेत्रमा सिर्सिया खोलाको पानीको बहाव बढेर जनजीवन प्रभावित भएको छ । खोलाको पानी बस्तीमा पसेपछि धेरै घरहरूमा लगभग ३ फिटसम्म पानी जमेको छ, जसले स्थानीय बासिन्दाहरूलाई कठिनाइमा पारेको छ । यस संकटपूर्ण अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नं। १३ गण हेडक्वाटर पर्साले तत्काल उद्धार टोली खटाएर प्रभावकारी कदम चालेको छ ।

सशस्त्र प्रहरी निरीक्षक ९सप्रनि० कपिलराज गिरीको नेतृत्वमा खटिएको टोलीले आवश्यक विपद् सामग्रीको साथमा प्रभावित क्षेत्रको अवलोकन गरी, स्थानीयको सहयोगमा तत्काल उद्धार कार्य अघि बढाएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए । टोलीले घरमा जमेको पानीका कारण फसेका सामानलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्दै बासिन्दाको जनधनको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

सिर्सिया खोलाको आसपासका क्षेत्रका बासिन्दालाई अझै थप क्षति हुन नदिन सशस्त्र प्रहरीले माइकिङ मार्फत जनचेतना फैलाउँदै सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ । बाढीको सम्भावित खतराबारे सचेत गराउने र बचावका लागि आवश्यक उपायहरूबारे जानकारी दिने कार्यले स्थानीय बासिन्दाहरूलाई थप सतर्क बनाएको छ । सशस्त्र प्रहरी बलले गरेको यस सक्रिय हस्तक्षेपलाई स्थानीयहरूले अत्यधिक प्रशंसा गरेका छन् ।

उद्धार टोलीको तिव्र र प्रभावकारी क्रियाकलापले संकटमा परेकाहरूलाई तत्काल राहत पुर्याउनुका साथै बाढीबाट हुने सम्भावित क्षतिलाई न्यून गर्न ठूलो योगदान गरेको छ । यस किसिमको द्रुत र संयमपूर्ण कार्यले सशस्त्र प्रहरी बलप्रति जनतामा थप विश्वास र सम्मान बढाएको छ ।स्थानीयहरूले सशस्त्र प्रहरी बलको यो सहयोगी भूमिकाको प्रशंसा गर्दै भविष्यमा यस्ता विपद् व्यवस्थापनका कार्यमा सशक्त उपस्थितिको अपेक्षा व्यक्त गरेका छन् ।

सशस्त्र प्रहरी बलले देखाएको उच्च समर्पण र सामाजिक उत्तरदायित्वले संकटको समयमा राहत पुर्याउन सशक्त भूमिका निर्वाह गरेको छ ।सशस्त्र प्रहरी निरन्तर परिचालन भएको सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले बताए । कतै जोखिमयुक्त अवस्था भएमा खबर गर्न पनि उनले अनुरोध गरेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban