चौतर्फी संकटको सामना गर्न सबै पक्ष एकजुट हुनुपर्नेस् अध्यक्ष प्रचण्ड

रातोघर

 २०८१ आश्विन २३, बुधबार  मा प्रकाशित
३०० पाठक संख्या


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल देशमा चौतर्फी संकट आएको भन्दै यसलाई सामना गर्न सरकार, प्रतिपक्ष, मिडिया, र नागरिकहरू सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। बुधवार बिहान सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्डले अप्ठ्यारो परिस्थितिमा सरकारलाई मात्र दोष दिने कामले समाधान नहुने भन्दै एकजुट भएर राहत, उद्धार, र पुनर्निर्माणमा ध्यान दिनुपर्ने बताएका हुन्।

उनले भने, “अहिलेको परिस्थितिमा सरकारलाई दोष दिने होइन, सबै पक्ष मिलेर संकटको सामना गर्नुपर्ने बेला हो।” उनले वर्तमान संकटलाई भूराजनीतिक र भौगोलिक दुबै पक्षले उत्पन्न गरेको चुनौतीको रूपमा चित्रण गर्दै संकट जटिल रहेको बताए।

प्रचण्डले संविधान संशोधनका लागि आफू सकारात्मक रहेको र विगतमा मधेशी दल तथा जनतालाई चुनावमा सामेल गराउन संविधान संशोधनमा आफ्नो भूमिका महत्त्वपूर्ण रहेको पनि स्मरण गराए।

साथै, उनले नेपालमा सत्ता समीकरणको परिवर्तनलाई आन्तरिक कारणले भएको भए पनि अन्तर्राष्ट्रिय दबाब र चलखेल दिन प्रतिदिन बढिरहेको औंल्याए।

अध्यक्ष प्रचण्डले नेपाल नयाँ शीतयुद्धको केन्द्रविन्दु बन्न सक्ने खतरा रहेको उल्लेख गर्दै भने, “अमेरिका र चीनबीचको प्रतिस्पर्धा र रुसको सुपरपावर हैसियत जोगाउन गर्ने अन्तिम प्रयासले नेपाल यस्तो केन्द्र बन्ने जोखिममा छ।”

प्रचण्डले विश्व भूराजनीति निकै चुनौतीपूर्ण रहेको र कतिपयले तेस्रो विश्वयुद्धको संघारमा रहेको दाबी गरेको भन्दै अन्तर्राष्ट्रिय चलखेल बढिरहेको तर्फ संकेत गरेका छन्। संकटको यस घडीमा सबै पक्षको सामूहिक सहकार्य आवश्यक रहेकोमा उनले जोड दिएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban