

वीरगञ्ज । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रले कमाण्ड सम्हालेको छोटो अवधि—मात्र ६ महिनामा—जिल्लामा चौतर्फी सफलता हासिल भएको छ। प्रहरी सक्रियतामा वृद्धि हुँदै तस्करी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गरिएको छ।
एसपी मिश्रले गत माघ १० गते पर्सा प्रहरीको नेतृत्व सम्हालेसँगै तस्करी नियन्त्रण अभियानलाई प्राथमिकता दिएका थिए। सोही अभियान अन्तर्गत जिल्लाका विभिन्न नाकाबाट तस्करले अवैध रूपमा भित्र्याएको करिब ३२ करोड ८ लाख ५६ हजार ३४२ रुपैयाँ बराबरको सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
प्रहरीका अनुसार तस्करीमा संलग्न सवारीसाधनहरू पनि कारवाहीको दायरामा ल्याइएको छ। उक्त अवधिमा विभिन्न नाकाबाट भित्रिएको बिलबिजक वा अन्य कानुनी कागजात विना ल्याइएका ३४ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ। तीमध्ये केही गाडी राजस्व अनुसन्धान कार्यालय पथलैया र केही वीरगञ्ज भन्सार कार्यालयमा आवश्यक कारवाहीका लागि बुझाइएको एसपी मिश्रले जानकारी दिएका छन्।
एसपी मिश्रले सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि प्रहरीले थप निगरानी र सक्रियता बढाएको र भविष्यमा समेत यसलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।





Write your Comment