बिरगंज गहवामाई रथयात्रामा एक लाख भक्तजन सहभागिता हुने अनुमान, हाइ(अलर्टमा सुरक्षा)

रातोघर

 २०८२ अषाढ १२, बिहिबार  मा प्रकाशित
२८२ पाठक संख्या


वीरगञ्ज, पर्सा । वीरगञ्जमा शुक्रवार ९भोली० भव्य रूपमा आयोजना हुने गहवामाई रथयात्रालाई लक्षित गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थामा उच्च स्तरको सतर्कता अपनाएको छ। रथयात्राका क्रममा हुन सक्ने सम्भावित जोखिम तथा अवाञ्छित घटना टार्नका लागि सुरक्षा निकायहरूलाई ‘हाइ अलर्ट’ मा राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले जानकारी दिएका छन्।

गहवामाई मन्दिर पुनर्निर्माणको १३औँ वार्षिकोत्सवको अवसरमा आयोजित यो रथयात्रामा एक लाखभन्दा बढी भक्तजनहरूको सहभागिता रहने अनुमान गहवामाई मन्दिर तीर्थ क्षेत्र विकास समितिले गरेको छ। वीरगञ्जको प्रमुख शक्तिपीठका रूपमा रहेको गहवामाई मन्दिरमा भक्तजनहरूको ठूलो भीड जम्मा हुने भएकाले सुरक्षामा कुनै पनि कमजोरी नराखिने प्रशासनको भनाइ छ।यसअघि, गत चैत ३० गते हनुमान जयन्तीको शोभायात्राका क्रममा दुई फरक धर्म समुदायबीच भएको झडपपछि वीरगञ्ज तीन दिनसम्म तनावग्रस्त बनेको घटना ताजै छ। सोही घटनालाई दृष्टिगत गर्दै यो पटकको रथयात्रा विशेष संवेदनशील मानिँदै सुरक्षामा थप ध्यान दिइएको हो।

सीडीओ अर्यालका अनुसार, बिहीबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूको सहभागितामा सुरक्षा टोलीले रथयात्रा परिक्रमा गर्ने सम्पूर्ण मार्गको स्थलगत अवलोकन र निरीक्षण गरिसकेको छ। सम्भावित जोखिमहरूको पहिचान गर्दै आवश्यक सुरक्षा रणनीतिहरू तय भइसकेको र त्यसअनुसार कार्यान्वयन हुने उनले बताए।अर्यालले भने, “गहवामाई रथयात्रालाई सफल र शान्तिपूर्ण बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायहरू पूर्ण रूपमा सतर्क छन्। भक्तजनहरूको सुरक्षाका लागि पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिनेछ।”

यसैबीच, जिल्ला प्रशासन कार्यालयमा आयोजक समिति, वीरगञ्ज महानगरपालिका, सुरक्षा निकाय तथा सरोकारवाला निकायहरूबीच समन्वय बैठक सम्पन्न भइसकेको छ। प्रशासनले सम्पूर्ण श्रद्धालु र स्थानीय बासिन्दाहरूलाई शान्तिपूर्ण, अनुशासित र व्यवस्थित सहभागिता जनाउन आग्रह गरेको छ ताकि धार्मिक सद्भाव कायम रहोस् र रथयात्रा सफलतापूर्वक सम्पन्न होस्।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban