

काठमाडौं, असार १६ — नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक समयमै अगाडि नबढाइएको भन्दै गम्भीर आपत्ति जनाएको छ र पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले सहमति विपरीत विधेयकलाई प्राथमिकता नदिएको भन्दै असन्तुष्टि जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, “यदि विधेयकमा ढिलाइ वा षड्यन्त्र गरिएको खण्डमा शिक्षक समुदाय आन्दोलनमा जान बाध्य हुनेछ।”
गत वैशाख १७ गते शिक्षक महासंघ र सरकारबीच राजधानी केन्द्रित २९ दिने शैक्षिक आन्दोलनपछि सहमति भएको थियो। सहमतिको मुख्य बुँदा अनुसार असार १५ गतेभित्र प्रतिनिधि सभाबाट विद्यालय शिक्षा विधेयक पारित गरिने प्रतिवद्धता थियो। तर तोकिएको मिति बितिसक्दा समेत विधेयक संसदमा पेश नै नभएको महासंघले जनाएको छ।
महासंघका अनुसार विधेयकको अवरोधले शिक्षक तथा विद्यालय कर्मचारीहरूमा गम्भीर सशङ्का उत्पन्न भएको छ। देशभरका शिक्षकहरू विधेयकको भविष्यप्रति चिन्तित र आक्रोशित हुँदै गएका छन्। महासंघले सरकारलाई चेतावनी दिँदै विद्यालय शिक्षामा सुधार र स्थायित्व ल्याउने मार्गमा कुनै पनि ढिलासुस्ती सह्य नहुने स्पष्ट पारेको छ।





Write your Comment