“कही नभएको जात्रा हाडिगाउँमा” :  बाराको झोलुङ्गे पुल योजनाले चरितार्थ गर्‍यो उखान

रातोघर

 २०८२ अषाढ १६, सोमबार  मा प्रकाशित
२९६ पाठक संख्या


कलैया, असार १६ – “कही नभएको जात्रा हाडिगाउँमा” भन्ने पुरानो उखान बाराको विकास योजनामा ठ्याक्कै मेल खान्छ। संघीय सरकारको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत बाराको करैयामाई गाउँपालिका–१, खमवा गाउँमा झन्डै २२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको झोलुङ्गे पुल अहिले प्रयोगविहीन अवस्थामा छ।

स्थानीयवासीका अनुसार पसाहा खोलामा बनाइएको सो पुलको दुवैतर्फ बाटो नै छैन, जसले गर्दा पुल हुँदै नभएको जस्तो भएको छ। पुलको बीचमा खोला पार गर्न बनाइए पनि वरिपरि आवागमनका लागि आवश्यक पूर्वाधारको अभावले पुल प्रयोगमै आउन सकेको छैन।गाउँपालिकाका प्राविधिकले खोलाको धार परिवर्तन भइसकेपछि त्यहाँ पुल निर्माण गरिएको स्वीकार्दै, बजेटको अभावमा पुल निर्माणपछि थप काम गर्न नसकेको बताएका छन्। यसले सरकारी योजनाको अव्यवस्थित र अपूर्ण कार्यान्वयनतर्फ संकेत गरेको छ।

त्यस्तै, रौतहट जिल्लाको यमुनामाई गाउँपालिका–२, भेडियाहीमा पनि यस्तै हालत देखिन्छ। झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत ४० लाख रुपैयाँ खर्चेर कामदेही खोलामा बनाइएको पुल पनि बाटोविहीन बनेको छ।स्थानीय बासिन्दाले पुलको प्रयोग नभएको भन्दै विरोध जनाएका छन्। गाउँपालिका कार्यालयले आवश्यक सहयोग नगरेका कारण बाटो निर्माणमा समस्या आएको वडाध्यक्ष सिताराम यादवले बताए। उनका अनुसार विकासको नाममा बजेट सकाउने हतारोमा यस्तो योजना प्राथमिकता पाएू।

यी घटनाहरूले विकास योजनाको योजना निर्माणदेखि कार्यान्वयनसम्मको कमजोरी उजागर गरिरहेको छ। जनताको पहुँचबिनाको पूर्वाधार निर्माणले न त जनताको सुविधा पुग्छ, न त राज्यको लगानीको सदुपयोग हुन्छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban