

थाईल्यान्डकी प्रधानमन्त्री पेटोंगटन सिनावात्रा मंगलबार पदबाट निलम्बनमा परेकी छन्। संवैधानिक अदालतले उनीमाथि आचारसंहिता उल्लंघनको आरोपमा छानबिन सुरु गरेसँगै उनीलाई अस्थायी रूपमा निलम्बन गरिएको हो।
सिनावात्रा मात्र १० महिना अघि प्रधानमन्त्री बनेकी थिइन्। तर हालै कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँग भएको गोप्य फोनकल सार्वजनिक भएपछि विवाद चर्किएको छ। उक्त कलमा उनले सेनाप्रति आलोचनात्मक टिप्पणी गर्दै हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेकी थिइन्। यसले थाई राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठेको भन्दै चर्को आलोचना भएको हो।
३६ जना सांसदले संसदमा निवेदन दिएपछि अदालतले उनलाई पदबाट हटाउने निर्णय गरेको हो। अब अदालतको अन्तिम निर्णय नआएसम्म उनी प्रधानमन्त्रीको रूपमा काम गर्न पाउने छैनन्। तथापि, मन्त्रिपरिषद पुनर्गठनपछि उनी संस्कृति मन्त्रीको भूमिकामा रहनेछिन्।
यस विवादको असर सत्ता गठबन्धनमै परेको छ। सरकारको प्रमुख साझेदार भुमजैथाई पार्टीले गठबन्धन छाडेको छ, जसले सिनावात्राको फेउ थाइ पार्टीको बहुमतमा संकट ल्याएको छ। शनिबार राजधानी बैंककमा विरोध प्रदर्शनसमेत भएका थिए भने संसदमा अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहेको छ।
अब थाई राजनीतिक परिदृश्य फेरि अस्थिरतातर्फ उन्मुख देखिएको छ।





Write your Comment