

रुकुम पश्चिम, चौरजहारी नगरपालिका–३ टाटागाउँमा एक दर्दनाक घरेलु हिंसाको घटना सार्वजनिक भएको छ। ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविका बुढाथोकीको खुकुरी प्रहार गरी विभत्स हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनामा प्रयोग गरिएको खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको छ। गए राति दुई जनाबीच विवाद भएपछि चन्द्रबहादुरले देविकालाई घरबाट लखेट्दै खुकुरी प्रहार गरेका थिए।
हत्या अत्यन्त क्रूर ढंगले गरिएको प्रहरीले जनाएको छ। उनले श्रीमतीको दुबै हात र अन्त्यमा घाटीमा खुकुरी प्रहार गरी उनको ज्यान लिएका थिए। घटनाको बेलामा ५ देखि ११ वर्ष उमेरका उनका तीनजना छोराछोरी पनि उपस्थित थिए, तर आमाबाबुको झगडा छुटाउन खोज्दा उनीहरूले आमालाई बचाउन सकेनन्।
घटना अनुसन्धान भइरहेको र आरोपीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। यस्तो दर्दनाक घटनाले स्थानीय समाजलाई स्तब्ध बनाएको छ।





Write your Comment