रामकुमारी झाँक्रीको गुनासो : मेरो अभिव्यक्तिलाई लिएर पार्टीभित्रकै पदाधिकारीहरू हिंसात्मक रुपमा प्रस्तुत भए

रातोघर

 २०८२ अषाढ १९, बिहिबार  मा प्रकाशित
२२२ पाठक संख्या


काठमाडौं । नेकपा  (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफ्नो अभिव्यक्तिका विषयमा पार्टीभित्रकै जिम्मेवार पदाधिकारीहरूले मिडिया, सामाजिक सञ्जाल र भर्चुअल माध्यममार्फत हिंसात्मक ढंगले बोलेको भन्दै आपत्ति जनाएकी छन्।

पार्टी अध्यक्ष माधव कुमार नेपालको नेतृत्व परिवर्तनका लागि उनले अर्ली महाधिवेशनको माग गर्दै “सिनो बोकेर हिँड्न सकिन्न” भन्ने अभिव्यक्ति दिएकी थिइन्। सो अभिव्यक्तिसम्बन्धी पार्टीले माग गरेको भनिएको स्पष्टीकरणबारे बोल्दै झाँक्रीले आफूले कुनै लिखित वा मौखिक रूपमा स्पष्टीकरण पाएको जानकारी नभएको बताइन्।

उनले भनिन्, “कतिपय पदाधिकारीहरूले त अनुशासन आयोगले स्पष्टीकरण सोधिसक्यो पनि भन्नुभएको छ। तर मलाई अहिलेसम्म कुनै लिखित पत्र, मौखिक प्रश्न वा औपचारिक स्पष्टीकरण कसैले र कुनै कमिटीले पनि सोधेको थाहा छैन।”

महासचिवले असार १५ गतेपछि यस विषयमा प्रतिक्रिया नदिन निर्देशन दिएको बताउँदै झाँक्रीले त्यसपछि आफूले मिडियामा केही नबोलेको उल्लेख गरिन्। “पार्टी नेता र पार्टीलाई समेत क्षति हुनेगरी बोलिरहँदा म मौन बसेँ,” उनले भनिन्, “तर पदाधिकारीहरू सुरुदेखि नै मिडियामा आएर निरन्तर टिप्पणी गरिरहनु दुःखद हो।”

उनले पार्टी तहको बैठकमै आफ्नो कुरा राख्ने बताउँदै सार्वजनिक टिप्पणीको जवाफ सार्वजनिक मञ्चमा दिन चाहँदिन पनि स्पष्ट पारिन्। झाँक्रीले भ्रामक प्रचार, आतुर अभिव्यक्ति र अनुशासनको हवाला दिँदै गरिएको व्यवहारप्रति गुनासो गर्दै नेतृत्व तहमा आत्मसमीक्षा र अनुशासनको एकरूप मापदण्ड हुनुपर्ने धारणा राखेकी छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban